सोसल मिडिया
हाम्रो बारेमा
बारा। बाराको कलैया उपमहानगरपालिका वडा नं. २ कवलपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बारा–३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार ई. अरविन्द साहले घरदैलो गरेका छन् । घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनलेसमर्थनका लागि मत अपिल गरेका छन् ।
घरदैलोका क्रममा साहले “व्यक्ति होइन, विधिको शासन” नारासहित नियमले चल्ने राज्य र विश्वासिलो व्यवस्था निर्माण गर्ने प्रतिबद्धता जनाए ।
उनले पारदर्शी र छिटो प्रशासन, भ्रष्टाचार तथा सामाजिक विकृति उन्मूलन, जनउत्तरदायी र परिणाममुखी शासन तथा व्यवस्थित ट्राफिक र सहुलियत कर्जालाई प्राथमिकतामा राख्ने बताए ।
महिला सशक्तीकरणतर्फ “घरबाटै सुरु, आत्मसम्मान सहित अगाडि” नारासहित प्रत्येक घरमा एक उद्यमी महिला कार्यक्रम, सीप विकास तालिम र सहुलियत कर्जा, महिला नेतृत्व प्रवद्र्धन तथा आर्थिक सशक्तीकरणका योजना अघि सारेका छन् ।
“एक घर–एक रोजगारी” अवधारणाअनुसार सीपमूलक तालिम केन्द्र स्थापना, स्टार्टअप संस्कृति विकास, युवालाई स्वरोजगारमा प्रोत्साहन तथा वैदेशिक रोजगारीको बाध्यता घटाउने लक्ष्य उनले लिएका छन् ।
कृषि क्षेत्रमा “किसान बलियो–अर्थतन्त्र दरिलो” नारासहित आधुनिक कृषि प्रणाली, सिँचाइ विस्तार, मल–बिउ तथा बजारमा सहज पहुँच र नगदे बाली तथा प्रशोधन उद्योग स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संघीय बजेटमा बारा–३ लाई प्राथमिकतामा राख्दै बहुवर्षीय पूर्वाधार आयोजनामा संघीय लगानी सुनिश्चित गर्ने उनले उल्लेख गरे ।
घरदैलोका क्रममा स्थानीय बासिन्दाले विभिन्न समस्या र सुझाव राखेका थिए भने साहले ती विषयलाई आफ्नो प्राथमिक कार्यसूचीमा समेट्ने दृढता जनाएका छन् ।
उनले घण्टी छापमा मतदान गरी विकास, सुशासन र समृद्धिको यात्रामा साथ दिन मतदातासँग आग्रह गरेका छन् ।