सोसल मिडिया
हाम्रो बारेमा
वीरगञ्ज । गत स्थानीय तह निर्वाचन २०७९ मा वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ को वडाध्यक्ष पदमा स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका नरेश प्रसाद यादवले नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
उक्त निर्वाचनमा उनले स्थानीय स्तरमा राम्रो लोकप्रियता हासिल गर्दै सम्मानजनक मत प्राप्त गरेका थिए ।
पर्सा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व मन्त्री प्रदीप यादवले सोमबार वीरगञ्जमा आयोजित एक अनौपचारिक स्वागत कार्यक्रमका बिच नरेश यादवलाई पार्टीमा भित्र्याएका हुन् ।
कार्यक्रममा प्रदीप यादवसहित वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, नेता ईश्वरचन्द्र यादव लगायतएमालेका अन्य स्थानीय नेताहरूको उपस्थिति थियो ।
नवप्रवेशी नरेश यादवलाई फूलमाला लगाई, टीका लगाई र खादा ओढाएर भव्य रूपमा स्वागत गरिएको थियो ।
नवप्रवेशी नरेश यादवलाई स्वागत गर्दै प्रदीप यादवले अब वीरगञ्ज–१८ एमालेको लाल किल्लामा परिणत भएको दाबी गरे ।
“चुनावमा सम्मानजनक मत ल्याउनु भएको नरेश यादवजस्ता इमानदार र लोकप्रिय व्यक्तित्वको पार्टीमा प्रवेशले हाम्रो सङ्गठनलाई थप मजबुत बनाएको छ ।
उहाँको योगदान अब वडाको विकास, जनताको सेवा र पार्टीको विस्तारमा महत्त्वपूर्ण हुनेछ,” उनले भने ।
नरेश प्रसाद यादवले पार्टी प्रवेश गरेपछि आफूलाई नयाँ ऊर्जा मिलेको बताए । उनले भने, “वीरगञ्जको समग्र विकास र स्थानीय जनताको सेवा गर्न अब थप सहज र प्रभावकारी हुने छ । एमालेको सिद्धान्त र नीतिसँग म सहमत छु ।”
नरेश यादवको प्रवेशसँगै वीरगञ्ज महानगरपालिका – १८ मा नेकपा (एमाले) को सङ्गठन थप मजबुत र विस्तारित भएको छ ।
स्थानीय कार्यकर्ताहरूले यसलाई आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीको जित सुनिश्चित गर्ने महत्त्वपूर्ण कदमको रूपमा लिएका छन् ।