सोसल मिडिया
हाम्रो बारेमा
बारा। बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार अरविन्द साहले आफ्नो चुनावी वाचा–पत्र सार्वजनिक गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार रहेका साहले स्थानीय आवश्यकता र संघीय नीतिगत सुधारलाई केन्द्रमा राख्दै विकासका प्रमुख प्राथमिकता सार्वजनिक गरेका हुन्।
सार्वजनिक गरिएको वाचा–पत्रमा कृषि, रोजगारी, पूर्वाधार, डिजिटल शासन, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई मुख्य एजेन्डाका रूपमा समेटिएको छ।
किसानलाई समयमै मल र बिउ उपलब्ध गराउने, सिचाइ विस्तार गर्ने र उत्पादनको बजारीकरण सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।
कृषि आधुनिकीकरणसँगै प्रविधिको प्रयोगमार्फत उत्पादन वृद्धि गर्ने योजना पनि उल्लेख गरिएको छ।
युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्यसहित सीपमूलक तालिम, स्टार्टअप प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई नीतिगत सहजीकरण गर्ने प्रतिबद्धता जनाइएको छ।
डिजिटल अर्थतन्त्र र प्रविधिमा आधारित अवसर विस्तार गरी वैदेशिक रोजगारीमा निर्भरता घटाउने रणनीति वाचा–पत्रमा समावेश छ। पूर्वाधार विकासतर्फ गुणस्तरीय सडक, सुरक्षित खानेपानी, विद्युत् विस्तार तथा स्वास्थ्य र शैक्षिक संस्थाको स्तरोन्नति गर्ने विषय समेटिएको छ।
संघीय बजेटमार्फत दीर्घकालीन आयोजना अघि बढाउने र कार्यान्वयनको प्रभावकारी निगरानी गर्ने उल्लेख गरिएको छ।
त्यस्तै डिजिटल शासनमार्फत सरकारी सेवा प्रवाहलाई छिटो, पारदर्शी र नागरिकमैत्री बनाउने योजना पनि प्रस्तुत गरिएको छ। डेटा–आधारित योजना प्रणाली र अनलाइन सेवा विस्तारलाई सुशासनको आधारका रूपमा अघि सारिएको छ।
वाचा–पत्रमा महिला सशक्तीकरण, सामाजिक सुरक्षा, गरिब तथा विपन्न वर्गको जीवनस्तर सुधार, धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन र जलवायु अनुकूल पूर्वाधार विकासका विषय पनि समेटिएका छन्।
वाचा–पत्र सार्वजनिक गर्दै साहले राजनीति पदका लागि नभई जिम्मेवारीका लागि भएको उल्लेख गर्दै जनताको भरोसा कायम राख्दै स्थानीय आवश्यकता र राष्ट्रिय नीतिबीच सन्तुलन मिलाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले बारा क्षेत्र नम्बर ३ लाई दीर्घकालीन विकासको मार्गमा अघि बढाउने आफ्नो लक्ष्य रहेको बताएका छन्।