चुनाव सुरक्षा :

प्रतिनिधिसभा निर्वाचनअघि ७२ घण्टा पर्सा–बारा सीमा पूर्ण बन्द गर्ने निर्णय

शनिबार, फागुन ९, २०८२

वीरगन्ज । नेपाल र भारतका सुरक्षा अधिकारीहरुको शनिबार वीरगन्जमा सम्पन्न सीमा समन्वय समितिको बैठकले प्रतिनिधिसभाको निर्वाचनभन्दा ७२ घण्टा अघिदेखि भारतसंगको सीमा पूर्णरुपले बन्द गर्ने निर्णय गरेको छ ।

वीरगन्जस्थित एकीकृत सुरक्षा जाँचचौकीमा सम्पन्न दुई देशिय बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा निर्वाचनको समयमा हुन सक्ने क्रस बोर्डर अपराधको सम्भावनालाई लिएर आवश्यक सतर्कता अपनाउने तथा सीमामा हुन सक्ने मदिराको खरिद बिक्री र सेवन तथा नक्कली नोटको कारोबारमा पनि आवश्यक निगरानी बढाउने सहमति भएको छ ।

बैठकमा भारतीय पक्षले पहिलो पटक वीरगन्ज हुँदै भारतको रक्सौल प्रवेश गर्ने सिर्सिया नदीमा भइरहेको जलप्रदूषणको विषयबारे चिन्ता जनाउँदै नेपाल हुँदै भारततर्फ जाने पानी वाटर ट्रिटमेन्ट प्लान्टबाट प्रशोधन गरेर मात्र पठाउन नेपाली पक्षलाई आग्रह गरेको छ ।

यसअघिका यस्तो बैठकमा भारतीय पक्षले यो विषयमा मुख खोलेको थिएन । यसबाहेक नेपाल–भारत सीमामा भइरहेको अतिक्रमण हटाउन पनि भारतीय पक्षले नेपाली पक्षसँग सहयोगको माग गरेको छ ।

बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र र भारत बिहार पूर्वी चम्पारण जिल्लाका डिक्सट्रिट मेजिस्ट्रेट सौरभ जोरवाल र पश्चिम चम्पारणका जिल्लाका मेजिस्ट्रेट धर्मेन्द्र कुमारको नेतृत्वमा दुवै देशका मातहतका सुरक्षा अधिकारीहरु सहभागी थिए ।

नेपालतर्फ नेपाली सेनाबाहेक सबै सुरक्षा निकायका अधिकारीहरु पनि सहभागी थिए ।शंकर आचार्य/कान्तिपुर

प्रकाशित मिति: शनिबार, फागुन ९, २०८२  २१:४३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय