चुनाव सुरक्षा :

मधेश प्रदेशमा मतदान सुरक्षित बनाउन ६० हजार सुरक्षाकर्मी खटिए

शनिबार, फागुन ९, २०८२

वीरगंज — आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त बनाउन मधेश प्रदेशमा करिब ६० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

चारवटै सुरक्षा निकायको संयुक्त समन्वयमा मतदान स्थलदेखि संवेदनशील क्षेत्रसम्म कडा सुरक्षा व्यवस्था मिलाइएको प्रदेश सुरक्षा समितिले जनाएको छ।

सुरक्षा व्यवस्थापनअन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका जनशक्ति परिचालन गरिएको हो।

मतदान केन्द्रको बाहिरी घेरामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएका छन् भने अति संवेदनशील क्षेत्रमा नेपाली सेनालाई स्ट्यान्डबाइ राखिएको सुरक्षा स्रोतले जानकारी दिएको छ।

राष्ट्रिय अनुसन्धान विभागले सम्भावित जोखिम र गतिविधिको निगरानी बढाएको छ।

प्रदेशका आठै जिल्लामा मतदान केन्द्रको जोखिम मूल्यांकन गरी ‘अति संवेदनशील’, ‘संवेदनशील’ र ‘सामान्य’ गरी वर्गीकरण गरिएको छ।

सोही आधारमा सुरक्षाकर्मीको संख्या निर्धारण गरिएको छ। सीमा क्षेत्र, भीडभाड हुने बजार र विगतमा विवाद देखिएका स्थानमा विशेष निगरानी बढाइएको जनाइएको छ।

निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा नियन्त्रण, अवैध हतियार तथा शंकास्पद वस्तुको चेकजाँच, सवारी साधनको निगरानी र रात्री गस्ती तीव्र पारिएको छ।

सुरक्षा निकायले मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गर्दै कुनै पनि अवाञ्छित गतिविधि देखिए तुरुन्त जानकारी गराउन अनुरोध गरेको छ।

प्रदेश सुरक्षा समितिका अनुसार मतदान सामग्री ढुवानी र मतपेटिका संकलनमा समेत सुरक्षा घेरा कडा पारिनेछ। आवश्यक परेमा हवाई निगरानी र द्रुत प्रतिक्रिया टोली परिचालन गर्ने तयारी राखिएको छ।

यसपटकको निर्वाचनलाई लक्षित गरी सुरक्षा संयन्त्रबीच दैनिक समन्वय बैठक भइरहेको बताइएको छ। स्थानीय प्रशासनले शान्ति भंग गर्ने जोसुकैमाथि कडा कारबाही हुने चेतावनी दिएको छ।

सुरक्षा व्यवस्था सुदृढ बनाइएकाले मतदाताले भयमुक्त वातावरणमा आफ्नो मताधिकार प्रयोग गर्न पाउने अपेक्षा गरिएको छ।

निर्वाचन आयोगले समेत सबै पक्षलाई संयमता अपनाउन र लोकतान्त्रिक संस्कृतिको सम्मान गर्न अपिल गरेको छ।

प्रकाशित मिति: शनिबार, फागुन ९, २०८२  १६:०१
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय