सोसल मिडिया
हाम्रो बारेमा
वीरगंज। पर्सा क्षेत्र नं. १ अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नं. १६ नगवा टोलमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओमप्रकाश सरार्फले घरदैलो अभियानलाई सशक्त बनाउँदै मतदातासँग प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न गरेका छन्।
जनमत पार्टी बाट पर्सा क्षेत्र नं. १ का उम्मेदवार सरार्फले चुनावी प्रचारप्रसारलाई जनकेन्द्रित बनाउने उद्देश्यका साथ स्थानीय बासिन्दासँग भेटघाट गरी क्षेत्रका विविध समस्याबारे विस्तृत जानकारी लिएका हुन्।
घरदैलो अभियानका क्रममा सरार्फले नगवा टोलका प्रत्येक गल्ली र बस्तीमा पुगेर स्थानीयसँग खुला रूपमा छलफल गरे।
वर्षायाममा हुने डुबान, अव्यवस्थित नाला तथा ढल निकास, भित्री सडकको दुरवस्था, सडक बत्तीको अभाव, खानेपानीको अनियमित आपूर्ति, फोहोर व्यवस्थापनको कमजोरी, स्वास्थ्य तथा शिक्षासम्बन्धी चुनौती, बेरोजगारी र सीमावर्ती क्षेत्रसँग जोडिएका समस्याहरूबारे स्थानीयवासीले आफ्ना गुनासा राखेका थिए।
सरार्फले ती सबै विषयलाई ध्यानपूर्वक सुन्दै समाधानमुखी पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
नगवा टोलमा वर्षायाम लागेसँगै घर–आँगन डुबानमा पर्ने समस्या दीर्घकालीन रूपमा समाधान गर्न व्यवस्थित ढल तथा नाला निर्माण अपरिहार्य रहेको स्थानीयको भनाइ थियो।
सरार्फले संघीय सरकार, प्रदेश र स्थानीय तहबीच समन्वय गरी दीर्घकालीन पूर्वाधार विकास योजनामार्फत डुबान नियन्त्रणलाई प्राथमिकतामा राख्ने बताए।
“विकास योजनाले नागरिकको दैनिकी सहज बनाउनु पर्छ, कागजमै सीमित हुनु हुँदैन,” उनले भने।
त्यसैगरी भित्री सडक स्तरोन्नति, सडक बत्ती विस्तार र सुरक्षित यातायात व्यवस्थापनतर्फ आफू प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।
सीमावर्ती व्यापारिक सहर भएकाले ट्राफिक जाम र बजार व्यवस्थापन सुधार गर्न विशेष योजना ल्याउने उनको भनाइ थियो।
उनले युवालाई स्वरोजगारतर्फ आकर्षित गर्न सीपमूलक तालिम, साना तथा मझौला उद्यम प्रवर्द्धन र लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिवद्धता जनाए।
खानेपानी र सरसफाइको विषयमा पनि उनले स्पष्ट धारणा राखे। स्वच्छ पानी प्रत्येक नागरिकको आधारभूत अधिकार भएकाले पानी आपूर्ति प्रणालीको सुधार र नियमित अनुगमन आवश्यक रहेको उनको भनाइ थियो।
फोहोर व्यवस्थापनलाई आधुनिक र दिगो बनाउन नगरस्तरीय ठोस योजना आवश्यक रहेकोमा उनले जोड दिए।
स्वास्थ्य र शिक्षातर्फ बढ्दो जनसंख्या अनुसार सेवा विस्तार गर्नुपर्ने स्थानीयको मागप्रति सरार्फ सकारात्मक देखिए।
उनले आधारभूत स्वास्थ्य सेवा सुदृढीकरण, आवश्यक जनशक्ति व्यवस्थापन तथा सामुदायिक विद्यालयको गुणस्तर सुधारमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। “सुदृढ शिक्षा र स्वास्थ्य सेवा नै समृद्ध समाजको आधार हो,” उनले उल्लेख गरे।
घरदैलो अभियानका क्रममा स्थानीय मतदाताले सरार्फको सरल व्यवहार र प्रत्यक्ष संवाद शैलीको प्रशंसा गरेका थिए। उनले मतदातालाई आश्वासन मात्र नभई कार्यान्वयनमुखी योजना प्रस्तुत गर्दै विश्वास जित्ने प्रयास गरे।
विकास, सुशासन र पारदर्शितालाई मूल एजेन्डा बनाएको बताउँदै उनले पर्सा क्षेत्र नं. १ लाई नमुना निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य सार्वजनिक गरे।
अभियानले नगवा टोलमा सकारात्मक ऊर्जा थपेको स्थानीयको भनाइ छ। प्रत्यक्ष संवादमार्फत समस्या पहिचान र समाधानका लागि स्पष्ट खाका प्रस्तुत गरिएकाले मतदाता उत्साहित देखिएका छन्।
चुनावी माहोल तातिँदै जाँदा सरार्फको घरदैलो अभियानले पर्सा क्षेत्र नं. १ मा नयाँ उत्साह र भरोसा सिर्जना गरेको छ।