सोसल मिडिया
हाम्रो बारेमा
वीरगन्ज- पर्सा क्षेत्र नम्बर १ मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर २३ मा जसपाका वडा इकाई कमिटीका अध्यक्षसहित २ सय ५० भन्दा बढी स्थानीय नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
शुक्रबार बिहान प्रसौनीमा आयोजित नेकपा एमाललेको पार्टी प्रवेश तथा वडा भेला कार्यक्रममा जसपाका वडा इकाइ कमिटी अध्यक्ष जमुना यादव,सचिव मनोज कुमार यादव, नेताहरु नन्दु किशोर यादव, कालिम अन्सारी, जयराम साह गोढ, जगरनाथ महतो, कृष्णा कुशवाह, रुदल सहनी, श्याम किशोर यादव गरी २ सय ५० बढी जना एमालेमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा नवप्रवेशीहरुलाई पर्सा–१ का नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले अबीर टीका लगाएर पार्टीमा स्वागत गर्दै वडा नम्बर २३ मा एमाले अब थप बलियो बनेको बताए ।
यादवले जेनजी आन्दोलन पश्चात खतरामा परेको देश र संविधानलाई जोगाउन सक्ने एकमात्र राजनीतिक शक्ति एमाले नै भएको जिकिर गरे ।
साथै मधेस आन्दोलनबाट प्राप्त संघीयता, समावेशीता लगायतका उपलब्धीहरुको रक्षापनि एमालेले नै गर्न सक्ने देखेर आँफुले एमाले रोजेको उनले प्रस्ट्याए ।
मधेस आन्दोलनका उपलब्धीहरु बचाउननकै लागि आँफुले एमालेबाट उम्मेदवारी दिएको उनले बताए ।
पर्सा– १ मा अहिले विभिन्न दलका उम्मेदवारहरु देखिएको भन्दै उनले तीमध्ये कोहिपनि जनताको माझ भिजेका नेता नभएको बताए ।
पूर्वमन्त्रीसमेत यादवले भने,‘ कोहि बाहिरका जिल्लाबाट आएका होटल व्यवसायी छन् । कोहि उद्योगपति छन् ।
ती उम्मेदवारहरु कहिल्यै पनि जनताको दुख सुखमा देखिएनन् । मात्र चुनावका बेला भोट लिन जनताको दैलोमा आउँछन् । चुनाव हारेपछि फेरि ५ वर्ष गायब हुन्छन् । आफ्नो व्यपार पेशामा लाग्छन् ।’
त्यसका कारण पर्सा–१ का जनताको हरेक संकट र विपतमा साथ दिदैं आएको तथा क्षेत्रको विकासमा निरन्तर काम गरिरहेको उम्मेदवारको मुल्यांकन गरेर फागुन २१ को निर्वाचनका दिन मतदान गर्न उनले मतदाताहरुसंग अपिल पनि गरे ।
उनले भने,‘ जनताको दुखसुखमा कस्ले साथ दिएको ? कोरोना महामारी , खानेपानीको संकटका बेला जनताको बीचमा को आएर दिनरात नभनेर खट्यो ? जनताको सेवा गर्यो ? यी प्रश्नहरुको जवाफ पहिले स्वंयले खोज्नु होला , अनिमात्र मतदान गर्नु होला भन्ने मेरो अनुरोध छ ।’
एमालेका वडा कमिटी अध्यक्ष लालबाबु यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा पर्सा इन्चार्ज प्रभु हजरा, केन्द्रिय सदस्य निर्मला देवकोटा,मधेस प्रदेश उपाध्यक्ष विचारी यादव,वडाध्यक्ष अवध कुशवाहा लगायतकाकोपनि सहभागिता थियो ।