सोसल मिडिया
हाम्रो बारेमा
वीरगञ्ज । नेकपा (एमाले) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले बिहीबार वीरगञ्ज महानगरपालिकाका – ४ र ५ मा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् ।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आयोजित कार्यक्रममा यादवले मतदाताहरूसँग प्रत्यक्ष संवाद गर्दै आफ्नो विगतको योगदानको मूल्याङ्कन गर्न र सही नेतृत्वलाई मत दिन आग्रह गरेका थिए ।
कार्यक्रमका क्रममा यादवले दुवै वडाका प्रत्येक घरमा पुगेर स्थानीय मतदाताहरूसँग भेटघाट गर्दै जनताको सुख दुखमा सधैँ साथ दिँदै आएका नेतालाई चुन्नुपर्नेमा जोड दिए । पूर्व मन्त्री समेत रहेका यादवले निर्वाचनले देशको भविष्य निर्धारण गर्ने भएकाले जनताले आफ्नो अमूल्य मत सही नेतृत्वलाई दिनुपर्ने बताए ।
"यो निर्वाचनले हाम्रो क्षेत्र मात्र होइन, सिङ्गो देशको दिशा तय गर्नेछ । त्यसैले सही व्यक्ति र दललाई छान्नुहोस्," उनले मतदाताहरूसँगको संवादमा भने ।
यादवले आफ्नो विगतको दुई कार्यकाललाई स्मरण गराउँदै क्षेत्रको विकास र जनसेवामा निर्वाह गरेको भूमिकाको मूल्याङ्कन गर्न मतदाताहरूसँग अपिल गरे । उनले चुनावका बेला मात्र देखिने 'मौसमी नेता' हरूबाट सजग रहन सुझाव दिए । 'म चुनावी मौसमी नेता होइन, यो कुरा जनतामाझ जगजाहेर नै छ ।
व्यापारीहरूले आफ्नो नाफा घाटा मात्र हेर्छन् र चुनावलाई पनि व्यापार जस्तै हिसाब गर्छन् । जनता यसबाट सजग हुनुपर्छ,' यादवले भने । उनले मुलुकलाई स्टन्ट (नाटक) ले नचलाउने भन्दै अहिलेको सङ्कटबाट निकास दिन सक्ने एकमात्र राजनीतिक दल नेकपा (एमाले) नै भएको दाबी गरे ।
विकास र समृद्धिको स्पष्ट खाका एमालेसँग मात्र रहेको दाबी गर्दै यादवले भने, 'स्टन्ट गर्नेहरूले भोटका लागि जे पनि बोल्न सक्छन् । तर चुनावपछि उनीहरू कहाँ गायब हुन्छन्, त्यसको अत्तोपत्तो हुँदैन । अहिले यो देशलाई सङ्कटबाट निकालेर समृद्धितर्फ लैजान सक्ने पार्टी एमाले नै हो ।
तपाईँहरूले आफ्नो अमूल्य मत एमालेलाई दिनुहोस् ।' उनले आफ्नो अभियानलाई जनताको आवश्यकता र विकासमा केन्द्रित गरेको बताउँदै स्थानीय स्तरमा भएका पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा आफ्नो योगदानलाई जोड दिए ।
घरदैलो कार्यक्रममा नेकपा (एमाले) की केन्द्रीय सदस्य निर्मला देवकोटा, क्षेत्रीय संयोजक मानदेव हजरा, नेताहरू शम्भु गुप्ता, सुन्दर कुर्मी, वडा नम्बर ५ का वडाध्यक्ष प्रदीप चौरसिया लगायतका पदाधिकारीहरूको सहभागिता थियो ।
उनीहरूले पनि मतदाताहरूसँग संवाद गर्दै एमालेको पक्षमा मतदान गर्न आग्रह गरेका थिए । कार्यक्रममा स्थानीयहरूले यादवको विगतका कामहरूको प्रशंसा गर्दै निर्वाचनमा समर्थन गर्ने प्रतिबद्धता जनाएका थिए ।