सोसल मिडिया
हाम्रो बारेमा
वीरगन्ज- चुनाव पिच्छे दल फेदैं आएका मेडिकल व्यवसायी तथा एमालेका पूर्व केन्द्रिय सदस्य बसरुद्दिन अन्सारीको नेपाली कांग्रेसमा प्रवेशले वीरगन्ज महानगरमा कांग्रेस पार्टीभित्रै बिद्रोह हुने आकलन गर्न थालिएको छ ।
पर्सा क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार अनिल रुंगटाले आगामी स्थानीय तह निर्वाचनमा कांग्रेसको तर्फबाट महानगरको मेयरमा टिकट दिने वाचागरेपछि मात्रै अन्सारी कांग्रेसमा प्रवेश गरेको कांग्रेसकै नेताकार्यकर्ताहरु बताउँछन् ।
यसअघि माघ ६ गते मनोनयन अघि एमालेले पर्सा–१ बाट टिकट नदिएपछि आक्रोशित अन्सारी आँफैले सञ्चारकर्मीहरुसंगको कुराकानीका क्रममा ‘जस्ले मेयरको टिकट दिन्छ त्यहि पार्टीमा प्रवेश गर्छु ’ भनेका थिए ।
उनले त्यतिबेलै भनेका थिए,‘ आगामी स्थानीय तहको निर्वाचनमा जुन सुकै पार्टीबाट भएपनि वीरगन्जको मेयरमा चुनाव लड्छु ।’ त्यति बेला अन्सारी रास्वपामा प्रवेश गर्ने तयारीमा रहेको र रास्वपाबाटै मेयरमा चुनाव लड्ने चर्चापनि चलेको थियो।
माथि उल्लेख विगतको अन्सारीको भनाईले अहिले कांग्रेसमा उनको प्रवेशले आगामी निर्वाचनमा कांग्रेसबाट मेयर पदमा चुनाव लड्ने पक्कापक्की भएरनै उनि कांग्रेसमा प्रवेश गरेको आकलनलाई बल पुगेको देखिन्छ ।
जसका कारण वीरगन्ज महानगरमा कांग्रेसभित्रैबाट बिद्रोह हुने सम्भावनालाई पनि प्रबल बनाएको देखिन्छ ।
कारण , कांग्रेसबाट वीरगन्ज महानगरको मेयर पदका आंकाक्षी अन्य नेताहरु छन् । उनिहरुलाई पाखा लगाउँदै अन्सारीले मेयर पदको टिकट पाउने चर्चा पार्टीभित्रै चलेपछि कांग्रेसमा बिद्रोह हुने देखिन्छ ।
पार्टीमा दशकौंदेखि योगदान दिदैं आएका नेतालाई पाखा लगाएर पदका लागि चुनावै पिच्छे दल फेर्दै आएका अन्सारीलाई कांग्रेसले मेयर पदको टिकट दिने हो भने त्यसले बिद्रोह कसैले रोक्न नसक्ने पर्सा–१ का एक कांग्रेस नेताले बताए ।
ती नेताले भने,‘ अन्सारी पदका लागि जे पनि गर्न तयार हुने व्याक्ति हुन् । मेडिकल कलेजको लाइसेन्स लिने बेला उनको परिवार कांग्रेसी थियो ।
उद्घाटनका बेला तत्कालीन एमाले नेता माधव नेपाललाई बोलाएर मेडिकल कलेजको उद्घाटन गराए । त्यसपछि माओवादीमा प्रवेश गरेर अन्सारी सांसदमा लडे ।
अर्को चुनावमा एमालेबाट मेयरमा लडे । अहिले एमालेले टिकट नदिएपछि रास्वपामा जाने हल्ला आँफैले चलाए । आज कांग्रेसमा प्रवेश गरेर मेयरमा लड्छु भन्दैछन् ।
यस्ता अवसरवादीलाई यदि कांग्रेसले मेयर पदको आश्वासन दिएर प्रवेश गराएको भन्ने सुनिदैछ । यसले कांग्रेसमा ठूलो असन्तोष पैदा भएको छ ।’