चुनाव :

“वीरगञ्जलाई औद्योगिक राजधानी बनाउने वाचा, तर रोजगार भारतीयलाई ? रुङटामाथि मतदाताको तीखो प्रश्न”

मंगलबार, फागुन ५, २०८२

वीरगञ्ज - नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार अनिल रुङटाले वीरगञ्जलाई “औद्योगिक राजधानी” बनाउने प्रतिबद्धता सार्वजनिक गरेपछि स्थानीय स्तरमा बहस चुलिएको छ।

उनले वीरगंजलाई औद्योगिक राजधानी बनाउने, लगानी वृद्धि र रोजगारी सिर्जनाको योजना अघि सारे पनि मतदाताको ठूलो समूह भने उनको प्रतिबद्धताप्रति सशंकित देखिएको छ।

पर्सा क्षेत्र नम्बर १ अन्तर्गत पर्ने 
वीरगञ्ज महानगरको विभिन्न वडाहरुमा आयोजित घरदैलो तथा भेटघाट कार्यक्रममा रुङटाले उद्योग–व्यवसायलाई आधुनिक बनाउँदै नयाँ उद्योग भित्र्याउने, उत्पादन बढाउने र युवालाई रोजगारी दिने दाबी गरेका छन्।

तर स्थानीय बासिन्दाले भने उनको आफ्नै उद्योग जगसक्ती स्टिलमा भारतीय नागरिकलाई प्राथमिकता दिइएको आरोप लगाउँदै प्रश्न उठाएका छन्।

“हाम्रा छोराछोरी यहाँ काम नपाएर खाडी र मलेसिया जान बाध्य छन्, तर वीरगञ्जलाई औद्योगिक राजधानी बनाएपछि पनि रोजगार भारतीयलाई दिने हो भने हाम्रो भविष्य के ?” वीरगंज १३ का एक स्थानीय मतदाताले प्रश्न गरे।

युवाहरूको ठूलो संख्या विदेश पलायन भइरहेका बेला स्थानीय उद्योगमै बाहिरका कामदारलाई प्राथमिकता दिइनु दुखद भएको उनीहरूको गुनासो छ।

वीरगञ्ज देशकै प्रमुख औद्योगिक तथा व्यापारिक केन्द्रका रूपमा परिचित छ। यहाँ ठूला–साना सयौँ उद्योग सञ्चालनमा छन्।

तर रोजगारीमा स्थानीयलाई कति प्राथमिकता दिइन्छ भन्ने विषय सधैं विवादको केन्द्र बन्दै आएको छ। अहिलेको चुनावी माहोलमा यो मुद्दा झन् चर्किएको छ।

मतदाताहरूको भनाइ छ—औद्योगिक विकासको नाममा बाहिरका नागरिकलाई प्राथमिकता दिने प्रवृत्ति रोकिएन भने स्थानीय युवाको भविष्य अझै अन्धकारतर्फ जानेछ।

उनीहरूले उम्मेदवारबाट स्पष्ट प्रतिबद्धता र नीतिगत योजना सार्वजनिक गर्न जसमा स्थानीयलाई रोजगारीमा पहिलो प्राथमिकता दिने व्यवस्था सुनिश्चित गर्न मांग गरेका छन ।

काँग्रेस उम्मेदवार रुङटाको चुनावी एजेन्डामा उद्योग विस्तार र लगानी आकर्षण मुख्य बुँदा भए पनि जनविश्वास जित्न भने चुनौतीपूर्ण देखिएको छ।

मतदाताहरूले अब भाषण होइन, व्यवहारमा देखिएको उदाहरणलाई आधार मानेर निर्णय गर्ने संकेत दिएका छन्।

पर्सा–१ मा औद्योगिक विकासको बहस चुनावी केन्द्रबिन्दु बनेको छ। आगामी निर्वाचनमा मतदाताले रोजगारी र स्थानीय हकहितलाई कसरी मूल्याङ्कन गर्छन्, त्यसले परिणाममा महत्वपूर्ण प्रभाव पार्ने देखिन्छ।

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  १७:३३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय