चुनाव :

सखुवा प्रसौनी–२ मा रूपेश पाण्डेको घरदैलो तीव्र, जनताको साथ बढ्दै

मंगलबार, फागुन ५, २०८२

वीरगंज । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेले आफ्नो चुनावी गतिविधि तीव्र बनाएको छ।

पार्टीका युवा उम्मेदवार रूपेश कुमार पाण्डेको पक्षमा स्थानीय तहमा उत्साहजनक माहोल देखिएको एमालेले जनाएको छ।

एमालेका अनुसार उम्मेदवार पाण्डेलाई जिताउन प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री प्रमोद जयसवाल सक्रिय रूपमा मैदानमा उत्रिएका छन्।

क्षेत्रीय निर्वाचन परिचालन कमिटीका संयोजकसमेत रहेका जयसवालले संगठनलाई मजबुत बनाउँदै घरदैलो, भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिइरहेका छन्।

स्थानीय नेता तथा कार्यकर्ताहरूले जयसवालको सक्रियताले अभियानलाई नयाँ गति दिएको बताउँदै उनलाई पर्सा–३ को चुनावी रणनीतिमा महत्वपूर्ण पात्रका रूपमा हेर्न थालेका छन्।

जयसवालले विभिन्न जनसम्पर्क कार्यक्रममा पाण्डेलाई “परिवर्तनको भरोसायोग्य युवा नेतृत्व” भन्दै मतदातासँग परिचय गराउँदै आएका छन्। उनले विकासका लागि युवा सोच र अनुभवी मार्गदर्शनको संयोजन आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।

उम्मेदवार पाण्डेले अघि सारेका पूर्वाधार विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, शिक्षा तथा स्वास्थ्य सुधार जस्ता एजेन्डाहरूलाई मतदाताले सकारात्मक रूपमा लिएको एमालेको दाबी छ।

विशेषगरी युवाहरू, व्यवसायी तथा शिक्षित समुदायमा उनको लोकप्रियता बढ्दै गएको बताइएको छ।

यसैक्रममा मंगलबार पाण्डेले सखुवा प्रसौनी गाउँपालिका–२ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। घरदैलोका क्रममा उनले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै आफ्ना योजना र प्रतिबद्धता प्रस्तुत गरेका थिए।

कार्यक्रममा गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवाल सहित स्थानीय नेता–कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सहभागीहरूले विकास र सुशासनका एजेन्डामा दृढ रहन उम्मेदवार पाण्डेलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  १५:४३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय