चुनाव :

बारा–३ मा नयाँ आशाको लहर, रास्वपाका ई. साह घरदैलोमा सक्रिय

सोमबार, फागुन ४, २०८२

बारा । बाराको क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार ई. अरविन्द साहले आज कलैया उप महानगरपालिका वडा नम्बर २३ अन्तर्गतका विभिन्न टोलका मतदातासँग भेटघाट गरेका छन् ।

उनले बतौरा, कोहिरिया टोल र बैराटपुरमा घरदैलो गर्दै मतदातासँग संवाद गरेका हुन् । 

टोल–टोलमा पुगेर साहले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै दैनिक समस्या, अधुरा विकास योजना र युवाको रोजगारी संकटका विषयमा छलफल गरेका छन् ।

उनले विशेषगरी कृषि क्षेत्रका मुद्दालाई प्राथमिकतामा राख्दै समयमै मल र गुणस्तरीय बिउ उपलब्ध गराउने, सिचाइ व्यवस्था विस्तार गर्ने तथा किसानले उत्पादनको उचित मूल्य पाउने गरी बजारीकरण प्रणाली सुधार गर्न पहल गर्ने बताएका छन् । 

घरदैलोका क्रममा साहले शिक्षा र स्वास्थ्य सेवालाई गुणस्तरीय तथा पहुँचयोग्य बनाउन संघीय तहबाट प्रभावकारी आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।

युवालाई सीपमूलक तालिम र उद्यम शीलता मार्फत स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।

डिजिटल सूचना र प्रविधिको प्रयोगमार्फत नागरिकलाई सरकारी सेवा, कृषि सूचना, बजार मूल्य र अवसरबारे सहज जानकारी उपलब्ध गराउने विषयमा पनि उनले जोड दिएका छन् । पारदर्शिता र सुशासन कायम गर्न प्रविधि महत्वपूर्ण माध्यम बन्न सक्ने उनको भनाइ छ ।

घरदैलोका क्रममा उनले मतदातासँग घण्टी छापमा मतदान गर्न आग्रह गर्दै जनताका मुद्दालाई संसदमा सशक्त रूपमा उठाउने अठोट दोहोर्याएका छन् ।

स्थानीयवासीले पनि परिवर्तन र परिणाममुखी कामको अपेक्षा राख्दै सकारात्मक प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  १७:३८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय