सोसल मिडिया
हाम्रो बारेमा
पर्सा । पर्सा क्षेत्र नम्बर–३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार रुपेश कुमार पाण्डे ले राजनीति लोकप्रियताको साधन नभई जनसेवाको माध्यम भएको बताएका छन्।
घरदैलो तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भावनात्मक भाषणभन्दा व्यवहारिक योजना आवश्यक रहेको उल्लेख गरे।
पाण्डेले कृषि सुधारलाई आफ्नो मुख्य प्राथमिकता बनाएका छन्।
साना किसानको उत्पादनलाई बजारसँग जोड्ने, मलखादको सहज उपलब्धता र सिँचाइ विस्तारमार्फत उत्पादन वृद्धि गर्ने योजना उनले सार्वजनिक गरे। “किसान बलियो भए मात्रै अर्थतन्त्र बलियो हुन्छ,” उनले भने।
शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तर अभिवृद्धि गर्ने उनको अर्को लक्ष्य छ।
विद्यालयमा प्रविधिमैत्री शिक्षण प्रणाली लागू गर्ने, सीपमूलक तालिममार्फत युवालाई दक्ष बनाउने तथा स्वास्थ्य चौकीको स्तरोन्नतिबाट गाउँमै उपचार सेवा सहज बनाउने उनले बताए।
युवालाई विदेश पलायन हुन नपर्ने वातावरण निर्माण गर्ने, महिलालाई निर्णय प्रक्रियामा सक्रिय बनाउने र जेष्ठ नागरिकको सम्मानजनक जीवन सुनिश्चित गर्ने विषयलाई पनि उनले प्राथमिकतामा राखेका छन्।
निर्वाचित भए नियमित रूपमा कामको विवरण सार्वजनिक गर्दै जनताप्रति प्रत्यक्ष जवाफदेही बन्ने प्रतिबद्धता उनले दोहोर्याए।
“राजनीति भाषणले होइन, परिणामले प्रमाणित हुन्छ,” पाण्डेको भनाइ थियो।
उनको अभियानले पर्सा–३ मा विकास, पारदर्शिता र जवाफदेहिताको बहसलाई थप तीव्र बनाएको छ।