चुनाव :

जनताको विश्वासलाई विकासमा रूपान्तरण गर्ने एमाले उम्मेदवार प्रदीप यादवको प्रतिबद्धता

सोमबार, फागुन ४, २०८२

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले वीरगञ्ज महानगरपालिका – १६ नगवामा चुनाव प्रचार–प्रसार तथा सम्पर्क कार्यालय स्थापना गरेको छ ।

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सङ्गठन सुदृढीकरण र जनसम्पर्क विस्तारको लक्ष्यका साथ सञ्चालनमा ल्याइएको कार्यालयको एमालेबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले रिबन काटेर गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका यादवले कार्यालय उद्घाटनलाई पार्टीको वडा स्तरीय जनसम्पर्क अभियानको सुरुवातको रूपमा व्याख्या गरे ।

उनले एमालेले वीरगञ्जलाई समृद्ध, सफा, सुन्दर र बस्न योग्य सहर बनाउने दृढ रहेको बताए ।

“हामीले शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय बनाउने, युवाहरूलाई रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्ने, सडक, बिजुली, खानेपानी जस्ता आधारभूत पूर्वाधार विकासलाई प्राथमिकता दिने छौँ ।

समग्र वीरगञ्जलाई औद्योगिक केन्द्रका साथै पर्यटकीय हब बनाउने हाम्रो मुख्य चुनावी एजेन्डा हो,” उनले भने ।

यादवले आफ्नो विगतको सार्वजनिक सेवाको समेत स्मरण गर्दै वीरगञ्ज र वीरगञ्जवासीका लागि गरेको कामको चर्चा पनि गरे ।

“मैले सांसद र मन्त्रीको जिम्मेवारी सम्हाल्दा जनताको सेवामा उल्लेखनीय सुधारको कामहरू गरेको छु ।

सबै अनुभवका आधारमा अब वीरगञ्जको समग्र विकासलाई नयाँ उचाइमा पुर्‍याउने छु र जनताको दैनिक जीवनलाई सहज बनाउने छु,” उनले थपे ।

त्यस्तै उनले वीरगञ्ज – १६ का सम्पूर्ण मतदाता, शुभेच्छुक तथा समर्थकहरूलाई कार्यालयमा नियमित रूपमा आउन, आफ्ना सुझाव दिन र आफ्नो अभियानमा सक्रिय सहभागिता जनाउन अनुरोध पनि गरे ।

“तपाईँहरूको साथ र सहयोगले हाम्रो पार्टीको जनसम्पर्क अभियानलाई अझ सशक्त र प्रभावकारी बनाउने छ,” उनले थपे ।

कार्यालय उद्घाटनसँगै नेकपा (एमाले) ले वीरगञ्ज – १६ सहित सहरका विभिन्न वडाहरूमा जनसम्पर्क र सङ्गठन विस्तार अभियानलाई तीव्रता दिने भएको छ ।

कार्यालयलाई पार्टीका उम्मेदवार तथा कार्यकर्ताहरूको नियमित सम्पर्क केन्द्रको रूपमा सञ्चालन गरिने जनाइएको छ ।

उद्घाटन कार्यक्रममा पूर्व सांसद प्रभु हजरा, निर्मला देवकोटा, क्षेत्रीय संयोजक मानदेव हजरा, सुन्दर कुर्मी, रामबाबु पासवान, अरुण यादव, भुसाल चौरसिया लगायतको उपस्थिति रहेको थियो ।

यसैबिच, आज बिहान वीरगञ्ज–१८ सौराहामा प्रदीप यादवको घरदैलो कार्यक्रम तय गरिएको भए पनि स्थानीय बलिस्टर यादवको निधनका कारण उक्त कार्यक्रम स्थगित गरिएको क्षेत्रीय कमिटीले जनाएको छ ।

साथै, पार्टीका नेताहरू स्वर्गीय यादवको अन्त्येष्टि कार्यक्रममा सहभागी हुने एमालेले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  १०:२०
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय