चुनाव :

पाँच दिनको हल्लाले होइन, पाँच वर्षको कामले मात्र जितिन्छ जनताको मन : प्रदीप यादव

सोमबार, फागुन ४, २०८२

वीरगंज - पर्सा क्षेत्र नम्बर १ मा घरदैलो अभियानलाई तीव्र बनाउँदै नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले आफू जनताको सुख–दुःखमा सधैं साथ दिँदै आएको बताएका छन्।

आफनो निर्वाचन क्षेत्रको प्रत्येक वडाका टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले विकास र समृद्धिका सवालमा कहिल्यै पछि नहट्ने दाबी गरे।

पुर्व मन्त्री समेत रहेका उम्मेदवार यादवले विगतमा आफूले गरेका विकास निर्माणका कामहरू स्मरण गराउँदै संकटका बेला पनि जनताको साथ नछोडेको उल्लेख गरे।

“जनता समस्या लिएर जाँदा ढोका बन्द गर्ने होइन, समाधान खोज्ने नेतृत्व चाहिन्छ,” उनले भने, “म सधैं जनताको साथमा थिएँ र रहनेछु।”

उनले चुनावको समयमा मात्र देखापर्ने केही उम्मेदवारहरुको प्रवृत्तिको अन्त्य आवश्यक रहेको औंल्याए। वर्षौंपछि चुनाव नजिकिँदा मात्र सक्रिय हुने नेताहरूबाट जनता सचेत हुनुपर्ने उनको भनाइ थियो।

“जनताको विश्वास जित्न पाँच वर्ष काम गर्नुपर्छ, पाँच दिन प्रचार गरेर हुँदैन,” उनले स्पष्ट पारे। नेता यादवले क्षेत्रको पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा निरन्तर पहल गरिरहेको दाबी गर्दै आगामी दिनमा अझ ठोस योजना अघि सार्ने प्रतिबद्धता व्यक्त गरे।

विकासलाई निरन्तरता दिन स्थिर र अनुभवी नेतृत्व आवश्यक रहेको उनको जोड थियो।

कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले पनि विकासका अधुरा काम पूरा गर्न आग्रह गरेका थिए। जवाफमा यादवले आफूलाई फेरि अवसर दिए अधुरा योजनाहरू सम्पन्न गर्ने विश्वास दिलाए।

उनले अन्त्यमा मतदातालाई नेकपा एमालेको ‘सूर्य’ चुनाव चिह्नमा मतदान गर्न आग्रह गर्दै समृद्ध पर्सा निर्माणका लागि एकजुट हुन अपिल गरे।

“यो चुनाव व्यक्तिको मात्र होइन, विकासको दिशाको चुनाव हो,” भन्दै उनले समर्थन मागे।

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  १०:०२
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय