सोसल मिडिया
हाम्रो बारेमा
वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ र १३ मा नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् ।
कार्यक्रममा उनले स्थानीयहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको दैनिक जीवनसँग सम्बन्धित समस्या, सुझाव र अपेक्षाहरू सुनेका छन् ।
घरदैलोको अवसरमा यादवले जनताको मागअनुसार शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सामाजिक पूर्वाधार र रोजगारी सिर्जनामा प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यादवले विगतमा निर्वाचित सांसद र मन्त्रीको रूपमा पर्सा जिल्लामा गरेको विकास कार्यको स्मरण गराउँदै, सडक सुधार, खानेपानीको सहज पहुँच, विद्यालय र स्वास्थ्य संस्थाहरूको विकास तथा सामाजिक कल्याण योजनाहरू सफलता पूर्वक कार्यान्वयन गरेको चर्चा गरे ।
आफूले यसअघि गरेको कामले आगामी दिनमा थप दिगो र समावेशी विकास कार्यको आधार तयार गरेको उनले दाबी गरे ।
साथै उनले नेकपा (एमाले) को चुनावी एजेन्डालाई स्पष्ट गर्दै विकास, सुशासन, स्वास्थ्य र शिक्षामा सुधार, स्थानीय रोजगार सिर्जना, आर्थिक समृद्धि र महिला तथा सामाजिक समूहहरूको संरक्षण जस्ता बुँदामा जोड दिए ।
“हामी विकास, सुशासन र समृद्धिको यात्रालाई निरन्तरता दिनेछौँ । सबैले सूर्य चिन्हमा मतदान गरेर नेकपा (एमाले) लाई समर्थन गर्नुपर्छ ।
जनताको विश्वास, साथ र मायाले हामीलाई अझ बढी जिम्मेवारीका साथ काम गर्ने ऊर्जा प्रदान गरेको छ ।
समृद्ध क्षेत्र र सुखी जनताको सङ्कल्पसहित हामी तपाईँहरूसँगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्छौँ,” उनले भने ।
घरदैलो कार्यक्रममा नेकपा (एमाले) का नेता र कार्यकर्ताहरूसँग स्थानीय समर्थक र युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।