सोसल मिडिया
हाम्रो बारेमा
बारा। बारा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार ई. अरविन्द साहले आज बलीरामपुर र फुलवरिया टोलमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन् ।
घरदैलोका क्रममा उनले स्थानीय बासिन्दाका समस्या, अपेक्षा र सुझाव सुन्दै विकास, रोजगारी र युवाको भविष्य केन्द्रित योजनाबारे जानकारी गराएका छन् ।
घरघरमा पुगेर उनले क्षेत्रका सडक, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीका चुनौतीबारे मतदातासँग छलफल गर्दै समाधानका लागि ठोस योजना अघि सारे ।
उनले सीपमूलक तालिम, साना उद्यम प्रवद्र्धन तथा स्थानीय स्रोत–साधनको सदुपयोगमार्फत रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसैबीच आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै साहले क्षेत्र नं. ३ लाई परिवर्तन र विकासको नयाँ उदाहरण बनाउने लक्ष्य सुनाए ।
“म यहाँ राजनीति गर्न मात्र होइन, काम गर्न आएको हुँ । हाम्रो क्षेत्रलाई रोजगारी, शिक्षा र पूर्वाधारको दृष्टिले नमुना क्षेत्र बनाउने संकल्पका साथ अघि बढेको छु,” उनले भने ।
उनले युवामैत्री नीति, पारदर्शी शासन र जनताको प्रत्यक्ष सहभागितालाई प्राथमिकतामा राख्ने बताउँदै थपे, “युवा विदेशिनु बाध्यता होइन, विकल्प बन्नुपर्छ । यहीँ अवसर सिर्जना गरेर युवालाई आफ्नै ठाउँमा भविष्य देखाउने हाम्रो लक्ष्य हो ।”
कार्यकर्ता भेलामा उनले संगठनलाई बलियो बनाएर जनताको आवाज संसदसम्म पुर्याउने प्रतिबद्धता जनाएका थिए ।
घरदैलोका क्रममा मतदाताले स्थानीय विकास, कृषि बजार, खानेपानी र रोजगार अवसरका विषयमा आफ्ना गुनासा तथा सुझाव राखेका थिए ।
चुनावी अभियानलाई तीव्र बनाउँदै साहले आगामी दिनमा पनि विभिन्न बस्ती तथा टोलमा घरदैलो, अन्तरक्रिया र जनभेटघाट कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।