सोसल मिडिया
हाम्रो बारेमा
वीरगंज - पर्सा क्षेत्र नम्बर १ मा यसपटकको चुनावी माहोल हेर्दा “परिवर्तन” को नारा अपेक्षाकृत कमजोर देखिएको छ।
यसको मुख्य कारण भनेको यहाँका मतदाताले विगतदेखि नै सुख–दुःखमा साथ दिएका नेता प्रदीप यादवलाई विश्वास गर्नु रहेको स्थानीयवासी बताउँछन्।
विकास, पहुँच र जनसरोकारका विषयमा निरन्तर सक्रिय देखिएको कारण मतदाताले अहिले नयाँ अनुहारभन्दा अनुभवी र भरोसायोग्य नेतृत्वलाई प्राथमिकता दिएको देखिन्छ।
स्थानीयहरूका अनुसार एमाले पर्सा क्षेत्र १ का उम्मेदवार यादव चुनावी समयमा मात्र होइन, सामान्य दिनहरूमा पनि जनताबीच देखिने नेता हुन्।
बिरामी पर्दा अस्पतालसम्म पुग्ने, विपद् पर्दा राहतमा अग्रसर हुने र प्रशासनिक झन्झटमा सहयोग गर्ने व्यवहारले उनले जनताको मन जितेका छन्।
“हामीलाई भाषण होइन, काम चाहिन्छ,” श्रीपुरका एक स्थानीय वृद्ध मतदाता भन्छन्, “सुख–दुःखमा साथ दिने नेतालाई छोडेर किन परिवर्तन खोज्ने?”
पर्सा–१ का युवा मतदातामध्ये पनि परिवर्तनको माग भए तापनि त्यो माग नेतृत्व परिवर्तनभन्दा कामको निरन्तरता र परिणाममा केन्द्रित देखिन्छ।
युवाहरू भन्छन्, विकास योजनाहरू अधुरो नहोस्, शिक्षा, स्वास्थ्य र रोजगारीमा अघि बढ्न सकियोस्। यस दृष्टिले पुर्व मन्त्री समेत रहेका उम्मेदवार यादवले सुरु गरेका योजनालाई निरन्तरता दिनुपर्ने आवाज बलियो छ।
विपक्षी उम्मेदवारहरूले परिवर्तनको नारा उठाए पनि स्थानीय तहमा उनीहरूको उपस्थिति कमजोर रहेको गुनासो सुनिन्छ। “चुनाव आउँदा मात्र देखिने नेताले हाम्रो समस्या बुझ्दैन,” एक महिला मतदाता भन्छिन्। यही कारण परिवर्तनको सन्देश प्रभावकारी हुन नसकेको जानकारहरू बताउँछन्।
राजनीतिक जानेकाहरूका अनुसार पर्सा–१ मा परिवर्तनको विरोध होइन, तर स्थायित्व र भरोसाको खोजी देखिएको हो।
मतदाताले नेतृत्व बदल्नुभन्दा परिणाममुखी काम र पहुँचलाई महत्व दिएका छन्। यसले देखाउँछ कि जनताका लागि नारा होइन, व्यवहार र उपस्थितिले निर्णायक भूमिका खेल्छ।
समग्रमा, पर्सा–१ मा मतदाताको मनोविज्ञान स्पष्ट देखिन्छ—सुख–दुःखमा साथ दिने, निरन्तर देखिने र काम गर्ने नेताप्रति नै भरोसा।
यही कारण प्रदीप यादवप्रति जनसमर्थन कायम रहँदा परिवर्तनको नारा कमजोर बनेको छ।