सोसल मिडिया
हाम्रो बारेमा
पर्सा — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्सा निर्वाचन क्षेत्र नं. २ की उम्मेदवार विना जैशवालले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न वडाहरूमा घरदैलो तथा जनता दर्शन कार्यक्रमलाई निरन्तरता दिइरहेकी छन्।
चुनावी अभियानअन्तर्गत उनले स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, गुनासा र अपेक्षाहरू सुन्दै आएकी छन्। घरदैलो कार्यक्रममा सहभागी हुँदै उनले मुलुकको अवस्था र व्यवस्था परिवर्तन गर्नका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारलाई विजयी गराउन मतदातासँग आग्रह गरेकी छन्।
उम्मेदवार जैशवालले प्रतिनिधिसभामा रहँदा पर्सा क्षेत्रका सोसित, पीडित तथा पछाडि पारिएका समुदायको आवाज मजबुत रूपमा उठाउँदै आएको दाबी गरिन्।
उनले जनताको हक–अधिकार, न्याय र समानताको पक्षमा आफू सधैं उभिएको उल्लेख गर्दै पुनः एकपटक विश्वास गरेर प्रतिनिधिसभामा पठाउन मतदातासँग अनुरोध गरिन्। जनताको समस्यालाई संसद्मा प्रभावकारी रूपमा उठाउन निरन्तर संघर्ष गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।
घरदैलो अभियानका क्रममा उनले राष्ट्रको रक्षा, राष्ट्रियता र हिन्दु राष्ट्रको पक्षमा सशक्त आवाज उठाउँदै आएको पार्टीको पहिचानबारे पनि मतदातालाई जानकारी गराइन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले देशको मौलिकता, धर्म, संस्कृतिको संरक्षण गर्दै सुशासन र विकासलाई प्राथमिकतामा राखेको भन्दै उनले पार्टीलाई आफ्नो अमूल्य मत दिएर विजयी बनाउन आग्रह गरिन्।
विकास र सुशासनका सवालमा कुनै पनि प्रकारको कम्प्रोमाइज नगर्ने अठोट आफूले लिएको उम्मेदवार जैशवालले बताइन्। भ्रष्टाचार, बेथिति र अन्यायको अन्त्य गर्दै पारदर्शी शासन प्रणाली स्थापना गर्ने लक्ष्यका साथ आफू चुनावी मैदानमा उत्रिएको उनको भनाइ थियो।
घरदैलो तथा जनता दर्शन कार्यक्रममा स्थानीयवासीको उल्लेखनीय सहभागिता देखिएको छ भने अभियानप्रति जनताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।