चुनाव :

पोस्टर चम्किला, जनविश्वास फिका : प्रचारमै सीमित रुंगटाको राजनीति

मंगलबार, माघ २७, २०८२

वीरगंज- पर्सा–१ मा कांग्रेस उम्मेदवार अनिल रुंगटाको उम्मेदवारीलाई लिएर जनस्तरमा तीव्र असन्तुष्टि देखिएको छ।

पार्टीभित्र पहुँच र पैसाको बलमा टिकट सुरक्षित गरे पनि जनताको विश्वास जित्न उनी असफल देखिएका छन्।

चुनाव नजिकिँदै जाँदा घरदैलो र सभा–सम्मेलनमा सक्रिय देखिए पनि विगतमा जनतासँग उनको उपस्थिती कमजोर रहेको स्थानीयको गुनासो छ।

२०७४ सालको निर्वाचनमा पराजित भएपछि रुंगटा लामो समयसम्म जनसम्पर्कबाट टाढा रहेको आरोप लाग्दै आएको छ।

जनताका दैनिक समस्या—सडक, खानेपानी, रोजगारी, स्वास्थ्य र शिक्षा—मा ठोस पहल नगरेको भन्दै मतदाताले प्रश्न उठाएका छन्। “चुनाव आयो, नेता देखियो” भन्ने धारणा गाउँ–टोलमा बलियो बनेको छ।

स्थानीय बासिन्दाका अनुसार विकासका नाममा ठूला भाषण भए पनि काम देखिने खालका छैनन्। उद्योग–व्यवसायसँग नजिक रहेको भए पनि स्थानीय युवाको रोजगारी र सीप विकासमा प्रभावकारी पहल नदेखिएको उनीहरूको भनाइ छ।

यसले रुंगटाको राजनीति जनतामुखीभन्दा पनि स्वार्थ र पहुँच केन्द्रित रहेको संकेत गर्छ।
अर्कोतर्फ, प्रतिस्पर्धी उम्मेदवारहरू विगतका काम, जनसम्पर्क र निरन्तर उपस्थितिका कारण जनताबीच बलियो पकड बनाउँदैछन्।

यस सन्दर्भमा रुंगटाको उम्मेदवारी पैसाले सजिएको पोस्टर र प्रचारमा सीमित भएको टिप्पणी सुनिन्छ। मतदाताको मन जित्न भाषण मात्र होइन, विश्वास र काम आवश्यक हुने जनताको स्पष्ट सन्देश छ।

राजनीतिमा टिकट पाउनु मात्र जितको आधार होइन। जनताको सुख–दुःखमा साथ, निरन्तर उपस्थिती र परिणाममुखी काम नै वास्तविक मापदण्ड हो।

पर्सा–१ का मतदाताले यसपटक पनि यही मापदण्डमा उम्मेदवार तौलिने संकेत दिएका छन्। पैसाको बलले टिकट आए पनि, जनताको मन जित्न नसक्दा अनिल रुंगटाको चुनौती झन् बढ्दै गएको छ।

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  १०:०७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय