सोसल मिडिया
हाम्रो बारेमा
वीरगञ्ज। बारा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ई. अरविन्द साहले आज कलैया उपमहानगरपालिका ८ बरेवामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
घरदैलो अभियानका क्रममा उम्मेदवार साहले स्थानीय मतदातासँग घर–आँगनमै पुगेर प्रत्यक्ष संवाद गर्दै बारा जिल्लाको सदरमुकाम कलैयालाई शिक्षा, स्वास्थ्य र सूचना प्रविधि (आइटी हब) को रूपमा विकास गर्न सकिने बताए ।
उनले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबिच समन्वय गरी दीर्घकालीन तथा समावेशी विकास योजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
साहले कलैयामा गुणस्तरीय विद्यालय, प्राविधिक तथा व्यावसायिक शिक्षालय, उच्च शिक्षाका लागि क्याम्पसहरू, आधुनिक अस्पताल तथा विशेषज्ञ स्वास्थ्य सेवाको विस्तार आवश्यक रहेको उल्लेख गरे ।
साथै, डिजिटल पूर्वाधार सुदृढ गर्दै आइटी पार्क, स्टार्टअप केन्द्र र तालिम संस्थामार्फत युवालाई प्रविधिमा आधारित रोजगारीका अवसर सिर्जना गर्ने योजना रहेको बताए ।
घरदैलो कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले सडकको दुरावस्था, खानेपानीको समस्या, स्वास्थ्य सेवामा पहुँचको कमी, बेरोजगारी तथा कृषि उपजको बजार व्यवस्थापनका विषयमा गुनासो तथा सुझाव राखेका थिए ।
गुनासोहरूलाई गहन रूपमा बुझ्दै सबै विषयलाई प्राथमिकतामा राखेर संसद्मार्फत सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता साहले जनाए ।
कार्यक्रमका क्रममा उनले सुशासन, पारदर्शिता र जबाफदेहितालाई आफ्नो प्रमुख राजनीतिक एजेन्डा भएको उल्लेख गर्दै विकास योजनामा स्थानीय समुदायको प्रत्यक्ष सहभागिता सुनिश्चित गरिने बताए ।
महिला, युवा, किसान र साना व्यवसायीको सशक्तीकरणमार्फत समृद्ध कलैया निर्माण गर्ने लक्ष्य उनले दोहोर्याए ।
घरदैलो अभियानलाई थप प्रभावकारी बनाउँदै उम्मेदवार साहले आगामी दिनहरूमा निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गतका अन्य वडाहरूमा पनि निरन्तर जनसम्पर्क कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।
कार्यक्रममा स्थानीय अगुवा, युवाहरू, महिला समूह तथा पार्टीका नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।