पर्सा । पर्सा जिल्लाको क्षेत्र नम्बर २ मा राजनीतिक परिवर्तनको बहस फेरि चर्किएको छ।
वर्षौंदेखि उही अनुहार, उही भाषण र उही वाचाबाट दिक्क बनेका मतदाताले अब नयाँ सोच र नयाँ नेतृत्वको खोजी थालेका छन्।
यही चाहनालाई प्रतिनिधित्व गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शुसील साह कानु परिवर्तनको स्पष्ट आवाज बनेर अगाडि आएका छन्।
शुसील साह कानु भन्छन्, “परिवर्तन भाषणले होइन, इमानदार सोच र जवाफदेही नेतृत्वले हुन्छ।” उनको भनाइमा पुरानो दल र पुराना नेताले पटक–पटक मौका पाए पनि जनताको अपेक्षा पूरा गर्न सकेनन्। त्यसैले अब नयाँ राजनीतिक संस्कार आवश्यक भइसकेको उनको ठम्याइ छ।
स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासन मुख्य समस्या रहेको कानुको भनाइ छ। उनी यी समस्या समाधानका लागि योजनामुखी राजनीति आवश्यक रहेको बताउँछन्।
“सांसद भनेको विकास बजेट बाँड्ने एजेन्ट मात्र होइन, नीति निर्माणमा जनताको आवाज पुर्याउने माध्यम हो,” उनी जोड दिन्छन्।
चुनावी अभियानका क्रममा वीरगंजको वडा नम्बर ३मा घरदैलो गर्दै उम्मेदवार शुसील युवाहरू, महिला र आम मतदातासँग प्रत्यक्ष भेटघाटमा सक्रिय देखिन्छन्।
सामाजिक सञ्जाल र घरदैलो कार्यक्रममार्फत उनले पुरानो राजनीतिबाट अलग, पारदर्शी र जवाफदेही नेतृत्वको अवधारणा अघि सारेका छन्। यसले विशेषगरी युवामाझ आशा र उत्साह थपेको देखिन्छ।
स्थानीय मतदाताहरू पनि अब भावनात्मक नाराभन्दा व्यवहारिक योजना खोजिरहेको बताउँछन्। “हामीलाई पाँच वर्षपछि फेरि हराउने नेता होइन, सधैं जनतासँग रहने प्रतिनिधि चाहिएको छ,” एक स्थानीय मतदाताले बताए।
समग्रमा, पर्सामा देखिएको यो राजनीतिक माहोलले स्पष्ट सन्देश दिएको छ—परिवर्तनका लागि नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दल आवश्यक छ।
यही सन्देश बोकेर रास्वपा उम्मेदवार शुसील साह कानु पर्सा २का जनताको विश्वास जित्ने प्रयासमा छन ।





