सोसल मिडिया
हाम्रो बारेमा
बारा — पेशाले इन्जिनियर रहेका अरविन्द साहले प्राविधिक क्षेत्रमा लामो समय काम गरेर देशका विकास समस्या नजिकबाट देखेका अनुभवलाई संसदमार्फत नीतिगत रूपान्तरणमा प्रयोग गर्न चाहेको बताएका छन्।
राष्ट्रीय स्वतंत्र पार्टी बाट बारा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार बनेका साहले नेपालमा विकासका धेरै योजना कागजमै सीमित हुने गरेको बताउछन।
“मैले इन्जिनियरको रूपमा सडक, पुल, खानेपानी र पूर्वाधार निर्माणको काम नजिकबाट हेर्दा नीतिगत कमजोरीका कारण काम अवरुद्ध भएको धेरै पटक देखें,” उनले भने, “अब ती कमजोरी संसदबाटै सच्याउन चाहन्छु।”
उनको प्राथमिक एजेन्डामा गुणस्तरीय पूर्वाधार, पारदर्शी विकास बजेट, युवालाई सीपमूलक रोजगारी र प्रविधिमैत्री शासन प्रणाली रहेका छन्।
उनले विशेषगरी इन्जिनियर, डाक्टर, शिक्षकजस्ता प्राविधिक जनशक्तिलाई नीति निर्माण तहमा लैजानु जरुरी रहेको धारणा राखे। स्थानीय बासिन्दाबीच अरविन्दलाई शिक्षित, सरल र काम गरेर देखाउने व्यक्ति भनेर चिनिन्छ।
युवामाझ उनको लोकप्रियता बढ्दो देखिन्छ। “हामीलाई भाषणभन्दा काम गर्ने सांसद चाहिएको छ,” एक स्थानीय युवाले भने, “अरविन्दले त्यो क्षमता देखाएका छन्।”
अरविन्दले राजनीति सेवा गर्ने माध्यम भएको बताउँदै पुरानो शैलीको राजनीति परिवर्तन आवश्यक रहेको उल्लेख गरे।
उनले जनतासँग नियमित संवाद, सामाजिक सञ्जालमार्फत जवाफदेहिता र विकास योजनामा प्रत्यक्ष जनसहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन्।
इन्जिनियरिङ पृष्ठभूमिबाट राजनीतिमा आउने अरविन्दको कदमलाई धेरैले सकारात्मक रूपमा हेरेका छन्।
उनको सांसद बन्ने चाहना केवल व्यक्तिगत आकांक्षा नभई, प्रविधि र व्यावहारिक ज्ञानलाई राष्ट्रिय नीति निर्माणसँग जोड्ने प्रयासका रूपमा लिइएको छ।
अब आउने निर्वाचनमा मतदाताले उनको सोच र योजनालाई कति विश्वास गर्छन् भन्ने कुरा चासोको विषय बनेको छ।