सोसल मिडिया
हाम्रो बारेमा
पर्सा — पर्सा क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बनेका शुसील साह कानुले “परिवर्तनको आवाज उठाऔँ, उज्यालो भविष्य बनाऔँ” भन्ने नारासहित चुनावी अभियानलाई तीव्र बनाएका छन्।
विगतका राजनीतिक अभ्यासबाट दिक्क भएका मतदातामाझ उनले नयाँ सोच, इमानदार राजनीति र जवाफदेही नेतृत्वको प्रतिबद्धता व्यक्त गरेका छन्।
आफनो क्षेत्रका मतदाताहरु संगको भेटघाट तथा सभामा बोल्दै उम्मेदवार कानुले परम्परागत दलहरूले जनताको विश्वास गुमाइसकेको आरोप लगाए। उनले भने, “अब भाषण होइन, काम गर्ने समय आएको छ। जनता परिवर्तन चाहन्छन् र त्यो परिवर्तन रास्वपाबाट सम्भव छ।”
उनले शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनलाई आफ्नो मुख्य प्राथमिकतामा राखेका छन्। विशेषगरी युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने, सार्वजनिक सेवामा पारदर्शिता ल्याउने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाइने उनले बताए।
कानुले विगतमा जनतासँग गरिएका वाचा पूरा नभएकै कारण देश पछाडि परेको दाबी गर्दै अब नयाँ पुस्ताको नेतृत्व आवश्यक रहेको बताए। “हामी पुराना गल्ती दोहोर्याउन आएका होइनौं, समाधान लिएर आएका हौं,” उनको भनाइ थियो।
स्थानीय मतदाताहरू पनि कानुको अभियानप्रति आकर्षित देखिएका छन्। उनीहरू रास्वपाले उठाएको मुद्दा वास्तविक र जनजीवनसँग जोडिएको बताउँछन्।
लामो समयदेखि उही अनुहार र उही शैलीको राजनीतिबाट वाक्क भएका मतदाताले नयाँ विकल्प खोजिरहेको अवस्था छ।
चुनावी अभियानको क्रममा कानुले घरदैलो, चोकसभा र युवा भेटघाटलाई प्राथमिकता दिएका छन्।
उनले आफू जिते जनताको प्रतिनिधिका रूपमा संसदमा जनताको आवाज मजबुत रूपमा उठाउने प्रतिबद्धता दोहोर्याएका छन्।
पर्सामा २ परिवर्तनको चाहना बढिरहेका बेला शुसील कानुको उम्मेदवारीलाई नयाँ आशाका रूपमा हेरिएको छ ।