आगलागी :

हङकङको भीषण आगलागीमा परी कम्तीमा ४४ जनाको मृत्यु, २७९ जना बेपत्ता

बिहीबार, मंसिर ११, २०८२

वीरगञ्ज । हङकङको ताई पो जिल्लास्थित वाङ फुक कोर्ट आवासीय परिसरमा बुधवार दिउँसो लागेको भीषण आगलागीमा परी कम्तीमा ४४ जनाको मृत्यु भएको छ भने २७९ जना अझै बेपत्ता छन् । घाइते हुनेको सङ्ख्या ६२ नाघेको छ । उनीहरूमध्ये ४५ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् ।

स्थानीय समयअनुसार बुधवार दिउँसो २ बजेर ५१ मिनेटमा ३२ तले एउटा टावरको बाहिरी भागमा रहेको बाँसको मचान (स्काफोल्डिङ) बाट सुरु भएको आगो तीव्र हावाका कारण छिट्टै वरपरका अन्य टावरहरूमा फैलिएको थियो । आवासीय परिसरमा रहेको जम्मा ८ वटा ठूला टावरहरूमध्ये ७ वटामा आगो लागेको थियो । यस परिसरमा करिब ४,८०० भन्दा बढी बासिन्दा बसोबास गर्छन् ।

हङकङको अग्नि सेवा विभागले आगलागीलाई सबैभन्दा गम्भीर मानिने ‘लेभल–५ अलार्म’ घोषणा गरेको छ । हङकङमा सन् २००८ पछिको यो पहिलो लेभल–५ आगलागी हो । बिहीबार बिहानसम्म पनि केही टावरहरूबाट बाक्लो धुवाँ निस्किरहेको छ भने आठमध्ये चार वटा ब्लकमा आगो नियन्त्रणमा आएको र बाँकीमा पूर्ण नियन्त्रणका लागि पुरै दिन लाग्न सक्ने दमकल विभागले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा भवनको मर्मत सम्भारका क्रममा झ्यालहरू बन्द गर्न प्रयोग गरिएका अत्यधिक ज्वलनशील पोलिस्टाइरिन (स्टाइरोफोम) बोर्ड र बाँसको मचानले आगो द्रुत गतिमा फैलाएको देखिएको प्रहरीले जनाएको छ । सामग्रीहरूले हङकङको अनिवार्य अग्नि सुरक्षा मापदण्ड पूरा नगरेको पाइएको छ ।

घटनामा “गम्भीर लापरबाही” भएको ठहर गर्दै प्रहरीले निर्माण कम्पनीका दुई जना निर्देशक (५२ र ५४ वर्षीय) र एक जना ६८ वर्षीय इन्जिनियरिङ कन्सल्टेन्ट गरी तीन जनालाई पक्राउ गरेको छ ।

आठ सय भन्दा बढी अग्नि नियन्त्रक, प्रहरी र एम्बुलेन्स टोली परिचालित भए पनि भवनभित्रको अत्यधिक तापक्रम, भत्किरहेका संरचना र स्काफोल्डिङका कारण उद्धार कार्य निकै कठिन बनेको छ । करिब नौ सय बासिन्दालाई अस्थायी आश्रय स्थलमा सारिएको छ । घाइतेमध्ये एक जना अग्नि नियन्त्रकको पनि उपचारका क्रममा मृत्यु भएको छ ।

चीनका राष्ट्रपति सी जिनपिङले दुखद घटनाप्रति गहिरो दुःख र समवेदना व्यक्त गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

हङकङको इतिहासमा सन् १९९६ मा काउलुनमा भएको आगलागीमा ४१ जनाको मृत्यु भएको थियो । घटना अहिलेसम्मकै सबैभन्दा घातक आगलागी मानिएको छ । बेपत्ता व्यक्तिको खोजी जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  १०:०१
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय