वैदेशिक रोजगार :

भारतको दिल्लीबाट ४० नेपाली महिलाको उद्धार

शुक्रबार, साउन २३, २०८२

वीरगञ्ज । भारतको राजधानी दिल्लीबाट ४० जना नेपाली महिलाको उद्धार गरी आज रूपन्देहीको सुनौली नाका हुँदै काठमाडौं ल्याइने भएको छ।

राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाका अनुसार वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रूपमा कुवेत, साउदी अरब, ओमान र दुबईलगायतका खाडी मुलुकमा जान लागेका उनीहरूलाई फर्काइएको हो।

गैरकानूनी रूपमा खाडी मुलुकतर्फ जान लागेको थाहा पाएपछि नेपाली दूतावासको समन्वय र भारतीय प्रहरीले सहयोग गरी ‘किन इण्डिया’ संस्थाले बुधबार राति उनीहरूको उद्धार गरेको हो।

दूतावासको पहलमा महिपालपुरका होटलहरूबाट ६३ जना महिलालाई निकालिएको थियो। तीमध्ये आवश्यक कागजात पूरा गरेर युरोपका विभिन्न देश जाने तयारी गरेका २३ जनालाई छाडिएको र बाँकी ४० जनालाई नेपाल फर्काउने व्यवस्था मिलाइएको हो। उद्धार गरिएका ४० मध्ये ३१ जना कुवेत, ४ जना ओमान, ४ जना दुबई र १ जना साउदी अरब पठाउन लागिएको खुलाइएको छ।

उनीहरू नेपालका २४ जिल्लाका विभिन्न स्थानबाट दिल्ली पुगेका थिए। अधिकांश महिलाहरू भिजिट भिसा र भारतको बाटो प्रयोग गरी गन्तव्यतर्फ जाने गरेको आयोगले जनाएको छ।

सदस्य खतिवडाले यस्ता गैरकानूनी रूपमा वैदेशिक रोजगारीमा पठाउने गिरोहविरुद्ध कडा कारबाही गर्न सरकारसँग आग्रह गर्दै महिलाहरूलाई सुरक्षित र कानूनी माध्यमबाट मात्र रोजगारीमा जान आग्रह गरेकी छिन्।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  १८:२३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय