सोसल मिडिया
हाम्रो बारेमा
बेइजिङ ।उर्जा जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले नेपालमा लगानीको वातावरण बनिरहेको भन्दै चीनमा रहेका नेपाली समुदायलाई उर्जा क्षेत्र सहित विभिन्न क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।
चीन भ्रमणमा रहनुभएका मन्त्री खड्काले वेइजिङमा आयोजित ट्रेड फेस्टको अवलोकन गर्दै नेपाली समुदायलाई स्वदेशमा लगानी गर्न आग्रह गर्नुभएको हो ।
नेपाल विश्वकै जलस्रोतको धनी देश भएको भन्दै उर्जाबाटै समृद्दी हासिल हुनेगरि सरकारले काम गरिरहेको र लगानीको बातावरण बनिरहेकोले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।
मन्त्री खड्काले सरकारले सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावाट जलविद्युत उत्पादन गर्ने र १५ हजार भन्दा बढी विजुली भारत लगायत तेस्रो मुलुकमा बेच्ने सुनिश्चितता गरिरहेकोले छिट्टै नेपालको मुहार फेरिने बताउनुभयो ।
मन्त्री खड्काले भन्नुभयो- "जो जहाँ भएपनि नेपालीलाई माया नेपालकै हुने भएकोले तपाईहरुले सकेको लगानी र सहयोग देशमा गर्नुस्, लगानीको वातावरण सरकारले बनाएको छ, अव तपाईहामी मिलेर देशको विकासमा जुटौं ।"
नेपाली समुदायसँग मन्त्री खड्काले नेपालमा केही भएन भन्ने भाष्यबाट मुक्त भएर जलस्रोतमा संसारकै धनी देश नेपाल अब जलस्रोत क्षेत्रबाट समृद्दी हासिल गर्नसक्छ भन्ने कुरा स्थापित हुदै गएको र आफू मन्त्री भएपछि उर्जा विकास मार्गचित्र-२०८१ सार्वजनिक गरि मुलुकको विकासमा स्पष्ट नीतिका साथ अगाडी बढेको बताउनुभयो ।
बंगलादेशसँग विजुली बेच्न नेपाल दक्षिण एसियाकै पहिलो देश भएको भन्दै अहिले ४० मेगावाट विजुली बेचिरहेको बताउनुभयो । उहाँले अब ४० मेगावाटबाट बंगलादेशलाई ५ हजार मेगावाट विजुली वेच्ने समझदारी गरिरहेको बताउनुभयो ।
संसदमा छलफलमा रहेको जलस्रोत तथा विद्युत विधेयक अबको केही समयमै संसदबाट पारित गराउने भन्दै मन्त्री खड्काले नीतिगत अस्पष्टता हटाएर अब लगानीको वातावरण बन्दै गएको र विगतमा जस्तो अप्ठयारा र समस्या नीतिगत रुपमै हल गरेर सरकार अगाडी बढिरहेको धारणा राख्नुभयो ।
भेटमा नेपाली प्रतिनिधिले उर्जा विकास मार्गचित्र सार्वजनिक विगतमा नभएपनि मन्त्री खड्काकै पहल र प्रयासमा सार्वजनिक भई सरकारको प्राथामिकता उर्जा क्षेत्रमा देखिनु खुसीको विषय भएको बताए ।
उनीहरुले लगानी गर्न तयार भएपनि सरकारले त्यसको सुरक्षा गर्नुपर्नेमा जोड दिएका थिए ।
उनीहरुले उर्जा क्षेत्रमा सरकारले लिएको दृष्ट्रीकोण र मन्त्री खड्काले गरेको प्रयाससँगै आफूहरु सहकार्य गर्न तयार भएको बताएका थिए ।