समसामयिक :

छानविनमाथि छानविन गर्ने हो भने प्रहरी काम गर्न डराउँछ : प्रदिप यादव

सोमबार, चैत १९, २०८०

वीरगंज । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदिप यादवले एउटा अनुसन्धानमाथि अर्काे छानबिन उचित नभएको बताएका छन् । 

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद यादवले सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को अनुसन्धान चलिरहँदा ओभरटेक गरेर छानबिन गर्नु र कमजोरी देखिएको भनेर कारवाही गर भन्नु अपरिपक्व कदम भएको बताए । 

पूर्वन्यायाधीश र पूर्वप्रहरी अधिकारी सम्मिलित जाँचबुझ आयोगको प्रतिवेदनले सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा र सिआइबीको अनुसन्धानमा कैफियत देखाएपछि सरकारले महरालाई नियन्त्रणमा लिएर पुन अनुसन्धान थालेको छ भने सिआइबी प्रमुख परिवर्तन गरेको छ । 

सांसद यादवले भने एउटा छानबिन नसकिँदै त्यसमाथि अर्काे छानबिन गर्नु र कारवाही गर्नु उपयुक्त नभएको बताएका हुन् । ‘सुन प्रकरणमा प्रमाणको आधारमा सिआइबीले मुद्दा प्रक्रिया अगाडि बढाएको हो । नेपाल प्रहरीसँग नयाँ प्रविधि नहुँदा म्यानुअलबाट काम गरिरहेको छ । सीमित प्रविधिकै आधारमा काम गरिरहेको छ । तर पनि सफलता हासिल गरिरहेको छ,’ उनले भने । 

यादवले थपे, ‘तर, सरकार सुन तस्करीमा काम गरिरहेको र प्रतिवेदन बुझाएको सिआइबीमाथि जाँचबुझ आयोग बनाउँछ । वर्तमान प्रहरीमाथि पूर्वप्रहरीले छानविन गर्छ । अनुसन्धानमा खटिएको प्रहरी अधिकृतमाथि कारवाही गर्न सरकारलाई निर्देशित गर्छ ।

प्रतिवेदन कार्यान्वयनका निम्ति सरकार सिआइबीका अनुसन्धान अधिकृतलाई कारवाही गर्छ । यसरी छानविनमाथि छानविन गर्ने हो भने भोलिका दिनमा कोही पनि प्रहरी काम गर्न चाहँदैन । काम गर्न डराउँछ ।’ 

सांसद यादवले प्रहरीले लगेको मुद्दामा जिल्लाले छोडिदिने, उच्चले थुनामा पठाउने र सर्वाेच्चले छोडिदिने अभ्यास रहेको भन्दै छानबिनमाथि छानबिन नीतिअनुसार यसमा उच्चले जिल्लालाई र उच्चलाई सर्वाेच्चले कारवाही गर्ने हो भने यो प्रणालीका लागि राम्रो नहुने चेतावनी दिए । 

‘यदि छानबिनमा कुनै व्यक्तिले गल्ती गरेको छ भने कारवाही गरोस् । तर, संस्थालाई बदना गर्ने काम नगरोस्, यसरी मनोबल खस्छ,’ उनले भने । 

सांसद यादवले छानबिनमाथि छानबिनले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा अझै पत्ता लाग्न नसकेको बताए । ‘प्रहरीले अनुसन्धान गरी दोषी समातिसके पनि स्थानीयको आन्दोलन थेग्न नसकेको सरकारले छानविन समिति बनायो, त्यसले काम गर्न सकेन ।

अर्काे छानविन समिति बनायो, त्यसले पनि काम गर्न सकेन । र आजसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । त्यो पत्ता पनि लाग्न सक्दैन, किनकि हत्यारालाई आन्दोलनको दबाबमा त्यही बेला छोडिसकेको छ,’ उनले भने । 

सांसद यादवले छानबिन माथि छानबिन गर्नेभन्दा भइरहेको अनुसन्धानलाई प्रभावकारी बनाउनतिर लाग्नुपर्ने बताए ।

‘त्यसकारण सरकार दबाबमा पर्ने होइन, न्यायोचित काम गर्न आफ्नो अनुसन्धान अधिकृतलाई खटाएर राम्रोसँग अनुसन्धान गरोस् ।

दोषी नउम्कियोस्, निर्दाेष नसफसोस्, त्यसमा सरकारको ध्यान जाओस्,’ उनले भने ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  २१:१३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय