राजनीति :

व्यक्तिकाे स्वार्थ पूरा गर्न प्रावधान नै परिवर्तन गरियाे : सांसद प्रदिप यादव

बुधबार, माघ २४, २०८०

काठमाडौँ । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले नेपाल-भारत सीमाभन्दा पाँच किलोमिटरभित्र क्यासिनो सञ्चालन गर्ने प्रावधान सच्याउन माग गरेका छन् ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयकको छलफलमा भाग लिँदै सांसद यादवले यस्तो माग गर्दै कानुन मन्त्रीको ध्यानाकर्षण गरेका हुन् ।

सीमाभन्दा पाँच किलोमिटरभित्र होटेल रिसोर्टमा क्यासिनो सञ्चालन गर्न पाउने प्रावधान व्यावहारिक नभएको उनले बताए। 

‘मेचीदेखि महाकालीसम्म वीरगन्ज, जनकपुर काँकडभिट्टा, भैरहवा, धनगढीलगायत सीमाको जति सहर छ, त्यो सीमाको एकदेखि तीन किलोमिटरभित्र पर्छ।

व्यवसायीहरूले त्यसभित्रमा होटेल, रिसोर्ट बनाउँछ, त्यहाँ क्यासिनोको इजाजत दिन्छ,’ उनले भने, ‘अहिले ५ किलोमिटर प्रावधान राखेर के अब खेतमा क्यासिनो बनाउने, उखुबारीमा क्यासिनो बनाउने, कि जङ्गलमा गएर क्यासिनो खेल्न जाने र क्यासिनो को खेल्छ, नेपाली खेल्छ कि विदेशी खेल्छ?’

सांसद यादवले कुनै व्यक्तिको लागि ऐन संशोधन गर्न नमिल्ने जिकिर गर्दै पुरानो तीन किलोमिटरको प्रावधान यथावत् राख्न माग गरे।

‘कुन व्यक्तिको फाइदाका लागि यो ऐनमा पाँच किलोमिटर प्रावधान आएको छ, म बुझ्न चाहन्छु,’ उनले सोधे, ‘मलाई यहाँसम्म जानकारी छ कि झापाको विर्तामोडमा फाइभस्टार होटेल बनेको छ, त्यो बोर्डरभन्दा १० किलोभित्र बनेको छ, उसको फाइदाको लागि यो ऐनमा संशोधन गरिएको छ ।

त्यसैले म अनुरोध के गर्न चाहन्छु भने यो प्रावधान हटाएर पुरानो तीन किलोमिटरको प्रावधान राख्नु पर्‍यो । ’

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  २१:४९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय