समसामयिक :

बिन्दबासिनी गाउँपालिकाले गाउँवासीलाई निःशुल्क रगत उपलब्ध गराउने

सोमबार, माघ ८, २०८०

वीरगन्ज । बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन बिन्दबासिनी गाउँपालिका र रेडक्रसबीच सम्झौता भएको छ ।

बिन्दबासिनी गाउँपालिकाकाले गाउँवासीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ ।

रगत आवश्यक पर्ने गाउँपालिकाका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन बिन्दबासिनी गाउँपालिकाको कार्यालय र नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका वीच आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

बिन्दबासिनी गाउँपालिकाका प्रमुख प्रमोद तिवारी र नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सौरभ राज पाण्डे बीच भएको सम्झौतामा रगत आवश्यक पर्ने गाउँवासीलाई रेडक्रसद्वारा सञ्चालित रक्त सञ्चार सेवा पर्साबाट रगत उपलब्ध गराइने छ । यो सम्झौता लागू भइसकेको जनाइएको छ ।

बिन्दबासिनी गाउँपालिका प्रमुख तिवारीले निर्वाचनमा उम्मेदवार हुँदाका बखत गरेको चुनावी प्रतिबद्धता र गाउँ पालिकाको नीति तथा कार्यक्रममा उल्लेख भएको ' अध्यक्ष स्वास्थ्य सहायता कार्यक्रम' अन्तरगत गाउँवासीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको बताए ।

निःशुल्क रगत पाउनका लागि आफू गाउँवासी भएको प्रमाण स्वरूप यसै गाउँपालिकाको भनेर प्रमाण खुल्ने नागरिकता, मतदाता परिचयपत्र, सवारी चालक अनुमति पत्र वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि पेस गर्नुपर्ने सम्झौतामा उल्लेख छ । 

गाउँपालिकाको कार्यालयमा भएको सम्झौता कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा , लेखा प्रमुख मिथलेश कुशवाहा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय