समसामयिक :

सूर्य अस्पतालमा आइभीएफ प्रविधिबाट उपचार गराएकी महिलाले तिम्ल्याहा बच्चा जन्माइन

बुधबार, माघ ३, २०८०

वीरगञ्ज । वीरगञ्जस्थित सूर्य अस्पतालमा उपचार गराएकी एक महिलाले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन् ।

अस्पतालकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मोनिका यादव सिंहले आइभीएफ (इन–भिट्रो फर्टिलाइजेसन) प्रविधि’बाट उपचार गरेकी महिलाले माघ १ गते अर्थात् हिजो माघे सङ्क्रान्तिका दिन तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।

विगत १५ वर्षदेखि निसन्तान रहेकी सर्लाहीको कविलासी नगरपालिका – ७ की ३५ वर्षीय महिलाले डा. मोनिकाले गरेको आइभीएफ उपचार पश्चात् तिम्ल्याहा बच्चालाई जन्म दिएको अस्पतालका निर्देशक डा. सरोज सिंहले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिए ।तिम्ल्याहामध्ये दुई छोरी र एक छोरा रहेको डा. सरोजले बताए ।

तिनै शिशु स्वस्थ रहे पनि थप सावधानीका लागि उनीहरूलाई अस्पतालस्थित एनआइसीयू वार्डमा बाल रोग विशेष डा. कुश राज गिरीको प्रत्यक्ष निगरानीमा राखिएको डा. सरोजले बताए ।

‘एउटा शिशु अढाई किलो र अर्का दुई जना डेढ-डेढ किलोका छन् । उनीहरूलाई हामीले विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार गरिरहेका छौँ,’ डा. सरोजले भने, ‘आमाको स्वास्थ्य पनि राम्रो छ ।

शल्यक्रिया गरेर बच्चा जन्मिएको कारण उनलाई पनि चिकित्सकको निगरानीमा राखेर उपचार गरिँदै छ ।’मधेस प्रदेशमा एक मात्र आइभीएफ सेन्टरका रूपमा रहेको सूर्य अस्पतालमा यसअघि पनि आइभीएफ विधिबाट उपचार गराएका दम्पतीहरूले सन्तान प्राप्ति गरेका छन् ।

पछिल्लो एक वर्षदेखि अस्पतालमा उपलब्ध रहेको आइभीएफ विधिबाट उपचार गराएर हालसम्म पनि ३५ वटाभन्दा पनि बढी दम्पतीले सन्तान प्राप्ति गरिसकेको डा. सरोजले दाबी गरे ।

भारतमा विशेष तालिम लिएकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मोनिका यादव सिंहले अस्पतालमा आइभीएफ विधिबाट उपचार गर्ने गरेकी छन् ।

आइभीएफका लागि आवश्यक पर्ने सम्पूर्ण उपकरणहरू अस्पतालमै उपलब्ध रहेका छन् भने उपचारका लागि छुट्टै विशेषज्ञ चिकित्सकहरूको टोली समेत रहेको छ ।

त्यस्तै आइभीएफ उपचार गर्नका निमित्त अस्पतालले नेपाल सरकारले सम्पूर्ण मापदण्ड समेत पूरा गरेको छ ।

हालसम्म मधेस प्रदेश मात्र नभएर अन्य प्रदेश र छिमेकी मुलुक भारतबाट समेत सेवाग्राहीहरूले आइभीएफ प्रविधिबाट उपचार गराएर सन्तान प्राप्ति गरेको डा. मोनिकाले बताइन ।

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  ०८:२४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय