खेलकूद :

प्रो क्लब च्याम्पियन टी २० : उत्तर प्रदेशसँग वन्डरर्स क्लब नोयडा विजयी

मंगलबार, पुस १०, २०८०

वीरगञ्ज । वीरगञ्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको मङ्गलवार भएको दुई भारतीय क्लबबिचको भिडन्तमा वन्डरर्स क्लब नोयडाले बाजी मारेको छ । वन्डरर्स क्लबले भारतको उत्तर प्रदेश क्लब–११ माथि सात विकेटको सजिलो जित हासिल गरेको हो ।

जितसँगै वन्डरर्स क्लबले प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना कायमै राखेको छ । वन्डरर्स क्लबले हालसम्म चार खेल खेल्दै दुई जितको नतिजा निकालेको हो । दुई खेलमा भने वन्डरर्स क्लब पराजित भएको थियो । वन्डरर्स क्लबसँग पराजित भएको उत्तर प्रदेश भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । उत्तर प्रदेशको टोली आफूले खेलेको पाँच वटै खेलमा पराजित भएको छ ।

वीरगञ्जको नारायणी रङ्गशालामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको उत्तर प्रदेश क्लब–११ ले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय १४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नोयडास्थित वन्डरर्स क्लबले १५ ओभरमै केवल तीन विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको थियो ।

दुवै ओपनरलाई सस्तैमा गुमाएको वन्डरर्स क्लबका लागि तेस्रो नम्बरका ब्याटर हर्षित सेठीले अविजित ४५ रनको योगदान गरे । टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले केवल ३२ बलको सामना गरी दुई छक्का र चार चौका पनि हिर्काए ।

त्यसअघि वन्डरर्स क्लबका दुवै ओपनर ब्याटर ऋतिक अरोरा र रितिक वत्स सात–सात रन बनाउँदै पेभेलियन फर्किएका थिए । वन्डरर्स क्लबले १६ रनको कुल स्कोरमै दुई विकेट गुमाएको थियो । चौथो नम्बरका ब्याटर सिद्धार्थ गोस्वामीले भने टोलीका लागि २७ रनको योगदान गरे । उनले केवल २१ बलमा एक छक्का र चार चौका हिर्काए ।

वन्डरर्स क्लबका लागि पाँचौँ नम्बरका ब्याटर उजैर मलिकले पनि अविजित २२ रनको योगदान गरे । उनले २६ बलमा एक छक्का र एक चौका हिर्काए । वन्डरर्स क्लबले अतिरिक्त रूपमा पनि सात रन पायो । उत्तर प्रदेशका बलर सत्य तिवारीले दुई र साहिम हसनले एक विकेट लिए ।

त्यसअघि वीरगञ्जको नारायणी रङ्गशालामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको उत्तर प्रदेशका लागि जयदीप सिंहले सर्वाधिक २३ रनको योगदान गरेका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका जयदीपले ३२ बलमा तीन चौका पनि हिर्काए ।

ओपनर अल्तमास आलमले पनि टोलीको खातामा १६ रन थपेका थिए । उनले १३ बलमा तीन चौका हिर्काए । कप्तानसमेत रहेका अर्का ओपनर साहिम हसन एक रनमै पेभेलियन फर्किएका थिए । तेस्रो नम्बरका ब्याटर फरदिन अलीले भने टोलीको खातामा १५ रन थपे । उनले २० बलमा एक चौका पनि प्रहार गरे ।

विकेटकिपर ब्याटर शुभम चौधरीले सात रन बनाए । समिर अन्सारीले २४ र निखिल प्रतापले दुई रन बनाए । समिरले १८ बलमा एक छक्का र तीन चौका पनि हिर्काएका थिए । तरुण कुमारले चार र भीम शर्माले नौ रन जोडे ।

उत्तर प्रदेशको टोलीले अतिरिक्त रूपमा पनि १३ रन पाएको थियो । वान्डरर्सका बलर सञ्जीव चतुर्वेदी र शशाङ्क शेखरले दुई–दुई विकेट लिएका थिए । अलिप्त गुप्ता र हर्षित सेठीले पनि एक–एक विकेट हात पारेका थिए ।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १८:०२
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय