महिला टी - २० सिरिज

राष्ट्रिय महिला क्रिकेट टोलीको पहिलो उपाधि, नेपालद्वारा हङकङ १३ रनले पराजित

शनिबार, भदौ ९, २०८०

वीरगञ्ज — महिला टी–२० सिरिजको फाइनलमा नेपालले हङकङलाई १३ रनले पराजित गरेको छ ।

नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक भएपछि खेलको डकवर्थ लुइस पद्दतिअनुसार विजेता घोषणा गरिएको हो ।

टस हारेर ब्याटिङ गरेको हङकङले नेपाललाई १ सय २ रनको लक्ष्य दिएको थियो । निर्धारित २० ओभरमा ६ विकेट गुमाएर हङकङले १०१ रन बनाउन सफल भयो । जवाफी ब्याटिङमा आएको नेपालले ५.३ ओभरमात्रै खेल्न पायो । पानीले खेल रद्द भयो ।

नेपालले ५.३ ओभरमा १ विकेट बनाउँदै ३७ रन बनायो र नेपालले डकवर्थ लुइस पद्धतिबाट १३ रनले जित निकाल्न सफल भयो ।

यो जितसँगै नेपाली राष्ट्रिय महिला टोलीको पहिलो उपाधि हो । पहिला ब्याटिङ गरेको हङकङका लागि याशमिन दासवानीले ११, का यिङ चानले २९, मारिना एन्तोनियाले १९ तथा शान्जिन शाहजादले अविजित १४ रन बनाइन् ।

बलिङतर्फ नेपालका लागि खुशी डंगोलले ३ तथा अश्मिना कर्माचार्य र कविता जोशीले १/१ विकेट लिइन् ।

यस्तै नेपालको तर्फबाट सिता रानामगरले १३ र इन्दु बर्माले १९ रन बनाउन सफल भए । काजल श्रेष्ठ शून्य रनमा एलबीडब्लु आउट हुन पुगिन् ।

नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो भने अन्तिम खेलमा मलेसिायासित ६ विकेटले पराजित भएको थियो ।

यस्तै हङकङ पहिलो खेलमा नेपालसित ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियालाई १० विकेटले तथा तेस्रो खेलमा कुवेतलाई १६ रनले हराएको थियो । नेपाल र हङकङ रनरेटका आधारमा फाइनलमा प्रवेश गरेका हुन् ।

आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत महिला टी–ट्वान्टी सिरिजमा सहभागी भएका थिए । यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेलेको हो ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय