वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगर र अफिमजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका–३ बस्ने ४६ वर्षीय रियाज आलम र जगरनाथपुर गाउँपालिका–४ मधुपुर बस्ने ३७ वर्षीय सन्तोष प्रसाद पटेल रहेका छन्।
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्ज पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१५ स्थित चालीस फिटे सडकखण्डमा BR05BL 1680 नम्बरको TVS मोटरसाइकल रोकी चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा मोटरसाइकलमा सवार दुई जनाबाट लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ १५४ ग्राम र अफिमजस्तो देखिने पदार्थ ११ ग्राम ५९ मिलिग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक डिएसपी चक्र बहादुर मल्लले जानकारी दिए ।
दुवै जनालाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।





