वीरगंज — वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताउनुभएको छ।
मुख्य सडक विस्तारका क्रममा प्रभावित घरधनी तथा उनीहरूका प्रतिनिधिसँग सोमबार भएको भेटमा मेयर सिंहले धार्मिक तथा ऐतिहासिक महत्व बोकेका संरचनाको संरक्षण गर्दै सडक विस्तारको काम अघि बढाउन आफूले सम्बन्धित निकायलाई आग्रह गरिसकेको जानकारी दिनुभयो।
सोहीअनुसार धार्मिक संरचना संरक्षणलाई समेत ध्यानमा राखेर सडक विस्तारको डीपीआर तयार गरिएको उहाँले बताउनुभयो।
सडक सीमामा पर्ने महावीरस्थान मन्दिर, बिर्ता मन्दिर, अलखियामठ तथा छपकैयास्थित इदगाह र कबरगाह लगायतका धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने मेयर सिंहले स्पष्ट पार्नुभयो।
सडक विस्तारबाट प्रभावित घरधनीका समस्या र गुनासोबारे छलफल गर्दै उहाँले सडक सीमा छाडेर नयाँ संरचना निर्माण गर्दा कायम गर्नुपर्ने ५ फिट सेडब्याकको व्यवस्थाका सम्बन्धमा पनि पुनर्विचार गरिने बताउनुभयो।
मुख्य सडक क्षेत्रमा आवश्यक सुविधा र सहजता हुने गरी महानगरपालिकाले सहजीकरण गर्ने उहाँको भनाइ थियो।
त्यस्तै, सडक विस्तारका क्रममा प्रभावित भई नयाँ संरचना निर्माण गर्नुपर्ने घरधनीलाई नक्सापासमा आवश्यक छुट तथा सहुलियत उपलब्ध गराउन महानगरपालिका तयार रहेको मेयर सिंहले जानकारी दिनुभयो।
यसका लागि आगामी नगरसभाबाट आवश्यक निर्णय गराउने तयारी रहेको पनि उहाँले बताउनुभयो।
भेटमा सडक विस्तारबाट प्रभावित घरधनीका प्रतिनिधिहरूले आफूहरूले भोग्नुपरेका समस्या, क्षति तथा नयाँ संरचना निर्माणका क्रममा देखिन सक्ने व्यावहारिक कठिनाइबारे मेयर सिंहको ध्यानाकर्षण गराएका थिए।
छलफलमा सज्जन घिरैया, ओमप्रकाश सिकारिया, सुमन क्याल, निरञ्जन चौधरी, प्रमोद सर्राफ लगायत प्रभावित घरधनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।





