वीरगंज — रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका–२२ जगरनाथपुरका ६ जनाका परिवारलाई वीरगंज महानगरपालिकाले आवश्यक सहयोग उपलब्ध गराउने भएको छ।
भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको अचानकको बाढीमा परी जगरनाथपुरको एउटै टोलका ६ जना सम्पर्कविहीन भएका थिए। बाढी आएको लामो समय बितिसक्दा पनि उनीहरूको अवस्था अझै अज्ञात छ।
टिमुरेबाट पाँच जना र बेत्रावतीबाट एक जना गरी एउटै टोलका ६ जना बेपत्ता भएका हुन्।
आइतबार वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र पूर्वमन्त्री प्रदीप यादव जगरनाथपुर पुगेर बेपत्ता भएका व्यक्तिको परिवारसँग भेट गरेका छन्।
उनीहरूले परिवारका सदस्यसँग भेट गरी बेपत्ताको अवस्था, खोजीका क्रममा भएका प्रयास तथा परिवारले भोगिरहेको समस्याबारे जानकारी लिएका थिए।
भेटका क्रममा नगरप्रमुख सिंहले बेपत्ता परिवारको पीडामा महानगरपालिका साथमा रहेको बताउँदै तत्काल गर्न सकिने राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए।
बेपत्ताको खोजी, पहिचान तथा परिवारलाई आवश्यक सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने उनले बताए।
‘आफ्नो परिवारको सदस्यको अवस्थाबारे अनिश्चित भएर बस्नुपर्दाको पीडा निकै गम्भीर हुन्छ। यो दुःखको घडीमा वीरगंज महानगरपालिका बेपत्ता परिवारसँगै छ।
महानगरपालिकाको तर्फबाट तत्काल गर्न सकिने सहयोग उपलब्ध गराउनेछौँ र आवश्यक समन्वय पनि गर्नेछौँ,’ नगरप्रमुख सिंहले भने।
बाढीमा बेपत्ता हुनेमा २१ वर्षीय साहबुद्दिन मन्सुरी, २० वर्षीय राहुल मियाँ, १४ वर्षीय सरताज मियाँ, १७ वर्षीय समिम आलम, २० वर्षीय सर्फराज मियाँ र १६ वर्षीय रिजवान अन्सारी रहेका छन्।
साहबुद्दिन, राहुल, सरताज, समिम र सर्फराज टिमुरेस्थित मोटरसाइकल ग्यारेजमा काम गर्न पुगेका थिए। रिजवान भने बेत्रावती–१० स्थित अन्सारी मोटरसाइकल वर्कसपमा काम गर्न पुगेका थिए।
भदौ १० गते बिहान बाढी आएपछि उनीहरू परिवारको सम्पर्कमा आएका छैनन्।
समिम आलमका बुवा तैयब मियाँ मन्सुरीका अनुसार छोराको खोजीका लागि परिवारका सदस्य टिमुरेसम्म पुगे पनि कुनै जानकारी पाउन सकेका छैनन्।
‘छोरा भेटिन्छ कि भनेर टिमुरेसम्म पुग्यौँ। शव राखिएको ठाउँमा समेत पुगेर खोज्यौँ, तर छोराको कुनै अत्तोपत्तो भएन,’ उनले भने।
तैयबका दाजु उजिर मियाँ मन्सुरीका छोरा सर्फराज पनि बेपत्ता छन्।
एउटै परिवारका दुई दाजुभाइका एक–एक छोरा बाढीमा बेपत्ता भएका छन्। उनीहरूकै आफन्त अहमद मियाँका छोरा २० वर्षीय राहुल मियाँसमेत बेपत्ता छन्।
बेपत्ताको पहिचानका लागि भेटिएका शवसँग डीएनए परीक्षणमार्फत मिलान गर्न परिवारले रगतको नमुनासमेत बुझाएका छन्। तर अहिलेसम्म आफ्ना परिवारका सदस्यबारे कुनै निश्चित जानकारी प्राप्त हुन नसकेको उजिरले बताए।
१४ वर्षीय सरताज मियाँ मोटरसाइकल बनाउने काम सिक्न बाढी आउनुभन्दा करिब दुई महिनाअघि मात्रै टिमुरे पुगेका थिए। साहबुद्दिन र सर्फराज पनि टिमुरे गएको करिब दुई साता मात्रै भएको परिवारजनले बताएका छन्।
साहबुद्दिनका बुवा अली मियाँले छोराको मोबाइल नम्बरमा अझै पनि फोन गरिरहेको बताए। ‘बाढी आएको दिनदेखि नै नम्बरमा फोन गरिरहेको छु। कतै फोन लागिहाल्छ कि, छोरा फर्केर आउँछ कि भन्ने आशा अझै छ,’ उनले भने।
भेटका क्रममा पूर्वमन्त्री यादवले विपद्का कारण आफन्त बेपत्ता भएका परिवारलाई राज्यका सबै तहबाट सहयोग र समन्वय आवश्यक रहेको बताए।
उनले पीडित परिवारको अवस्था बुझेर राहत तथा आवश्यक सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धता जनाए।
यादवले बेपत्ता परिवारले लामो समयसम्म अनिश्चितताको पीडा व्यहोर्नुपर्ने अवस्था दुःखद रहेको भन्दै खोजी, पहिचान र राहतको कामलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए।
वीरगंजका बेपत्ता परिवारको समस्या समाधानका लागि आफ्नो तर्फबाट समेत पहल गर्ने उनले बताए।
वीरगंज महानगरपालिकाले जगरनाथपुरका ६ परिवारसँगै भोटेकोशी बाढीमा परी बेपत्ता भएका वीरगंजका अन्य परिवारलाई समेत आवश्यक सहयोग उपलब्ध गराउने तयारी गरिरहेको जनाएको छ।





