वीरगंज — विशेष अदालतले वीरगञ्ज महानगरपालिका मेयर राजेशमान सिंहलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ ।
विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सोमबार सिंहलाई सफाइ दिने फैसला सुनाएको हो ।
झूट्ठा कागजात पेस गरी नागरिकता दिलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर सिंहसहित ७ जनाविरुद्ध २५ जेठमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अर्कैकी छोरीलाई आफ्नो भनी कागजात बनाई नागरिकता दिलाएको आरोपमा सिंहसहितलाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
अख्तियारले सिंहको छोरी बनी नागरिकता लिएको भन्दै सिन्धुपाल्चोककी रिता भट्टराईविरुद्ध पनि मुद्दा दायर गरेको थियो ।
वीरगन्ज-३ का तत्कालीन वडा सचिव भिखारी राय र तत्कालीन कार्यवाहक वडाध्यक्ष तुफैल अख्तर ठकुराईविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
त्यस्तै गृह मन्त्रालयको छानबिन समितिका संयोजक र सदस्य तत्कालीन उपसचिव पुस्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेललाई पनि अख्तियारले प्रतिवादी बनाएको थियो।
मेयर सिंहविरुद्ध पर्सा जिल्ला अदालतमा २ वटा कसूरमा मुद्दा विचाराधीन छ । उनी यसअघि यी मुद्दामा धरौटीमा छुटेका थिए ।
दस्तखत किर्तेमा ४ लाख र झुटो विवरण पेस गरी नागरिकता बनाएको कसूरमा १५ हजार धरौटीमा माग गरिएको थियो ।




