वीरगंज - पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ नगदसहित चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सोमबार साँझ करिब ६ः३० बजे प्रदेश २–०३–००३ प ७२९५ नम्बरको कालो सुपर स्प्लेन्डर र ना.५७ प ५१८२ नम्बरको निलो एफजेड मोटरसाइकल रोकी चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा मोटरसाइकलमा सवार भारत बिहार सीतामढी जिल्ला डुमरा–६ का २६ वर्षीय सुरज कर्ण, बारा प्रसौनी गाउँपालिका–१ का ३२ वर्षीय उपेन्द्र साह, प्रसौनी–९ का २६ वर्षीय सागर कुमार सर्राफ र पर्सा बिन्दवासिनी गाउँपालिका–१ झौवागुठीका २५ वर्षीय राहुल कुमार गुप्ता पक्राउ परेका हुन्।
प्रहरीले उनीहरूको साथबाट १ हजार दरका ४ सय ५ थान, ५ सय दरका २३ सय ३३ थान, १ सय दरका ६ सय ४३ थान र ५० दरका ४८ थान गरी कुल ५२ लाख ५० हजार रुपैयाँ बरामद गरेको जनाएको छ।
बरामद रकम तथा दुवै मोटरसाइकल नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।





