वीरगञ्ज — सडक विस्तारका क्रममा वीरगञ्ज महानगरपालिकामभित्र देखिएका खाल्डाखुल्डी र अव्यवस्थित बिजुलीका तार व्यवस्थापनको काम तीव्र पारिएको छ।
महानगरका कार्यवाहक प्रमुख इम्तियाज आलमको निर्देशन तथा सरसफाइ शाखा प्रमुख सरफुद्दिन अन्सारीको प्रत्यक्ष नेतृत्वमा नगरभित्रका बिग्रिएका सडक मर्मत र अव्यवस्थित तार हटाउने अभियान सञ्चालन गरिएको हो।
खासगरी मुख्य बजार क्षेत्रमा सडक विस्तारका क्रममा डोजरको निरन्तर प्रयोगले बनेका खाल्डाखुल्डी र चुँडिएका तारका कारण सर्वसाधारण तथा सवारीचालकले सास्ती भोग्दै आएका थिए।
नागरिकको सोही असुविधालाई ध्यानमा राख्दै तत्काल समाधानका लागि महानगरले यो विशेष कदम चालेको हो।
सरसफाइ शाखा प्रमुख सरफुद्दिन अन्सारीका अनुसार सडकमा रहेका जोखिमपूर्ण खाल्डाखुल्डी पुर्ने र बिजुलीका पोलमा टाँगिएका काम नलाग्ने तथा अलपत्र तारहरू हटाउने काम भइरहेको छ।
महानगरलाई व्यवस्थित, सुरक्षित र सुन्दर बनाउन यो अभियानलाई निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो।
महानगरको यस सक्रियतासँगै मुख्य बजार क्षेत्रको यातायात आवागमन सहज हुनुका साथै सम्भावित दुर्घटनाको जोखिमसमेत कम हुने अपेक्षा गरिएको छ।





