वीरगञ्ज । पेट्रोलियम पदार्थ चोरी गरी अनधिकृत रूपमा बिक्री वितरण गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट ७ जनालाई पक्राउ गरेको छ।
भारतीय आयल कर्पोरेसन (आईओसी) को बरौनी टर्मिनलबाट नेपाल आयल निगमको सिनामंगलस्थित हवाई इन्धन डिपोका लागि ल्याइएको २० हजार लिटर क्षमताको ट्याङ्करबाट पेट्रोलियम पदार्थ चोरी गरिएको पर्सा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ना.७ ख १५३९ नम्बरको ट्याङ्करमा ल्याइएको इन्धनमध्ये केही परिमाण वीरगञ्ज महानगरपालिका–१४ बाइपास सडकखण्डस्थित सौदागर आयल सेन्टरमा अनधिकृत रूपमा चोरी गरी निकालेर बिक्री वितरण भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले छापा मारेको थियो।
छापाका क्रममा ट्याङ्करबाट तेल चोरी गरी निकाल्न प्रयोग गरिएको फलामको पाइप तथा ट्याङ्करमा लगाइएको सिलसमेत फेला परेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा पेट्रोल पम्प सञ्चालक तथा कर्मचारीसहित ७ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–३ मालपोतचोकका ५५ वर्षीय मुन्ने मियाँ, वीरगञ्ज–१५ लक्ष्मणवाका २३ वर्षीय असलम हवारी र वीरगञ्ज–११ श्रीपुरका २१ वर्षीय रफिक मियाँ रहेका छन्।
उनीहरू पेट्रोल पम्पसँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ। त्यस्तै, हेटौँडा उपमहानगर पालिका–११ का २० वर्षीय सन्देश राना मगर, वडा नं. १० का ४६ वर्षीय केशव राम सुनार, वडा नं. १४ का ५० वर्षीय मन्द सिंह लामा र वडा नं. १४ कै २७ वर्षीय उमेश राना मगरलाई पनि पक्राउ गरिएको छ।
प्रहरीले पक्राउ परेकाहरूलाई ट्याङ्करसहित नियन्त्रणमा लिएर पेट्रोलियम पदार्थ चोरी तथा अनधिकृत बिक्री वितरणसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।





