नेभिगेशन
समाज
समसामयिक :

सुनसरी घटनाप्रति वीउवासंघको चिन्ता, शान्ति, सामाजिक सद्भाव र कानुनी शासन कायम राख्न आग्रह

वीरगंज- वीरगञ्ज उद्योग वाणिज्य सङ्घ (बीआईसीसीआई) ले सुनसरी जिल्लाको कप्तानगञ्जबाट सुरु भई विभिन्न स्थानमा देखिएका अशान्तिपूर्ण घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै देशमा शान्ति, सामाजिक सद्भाव र कानुनी शासन कायम राख्न सबै पक्षसँग आग्रह गरेको छ।

शुक्रबार अध्यक्ष हरिप्रसाद गौतमद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त घटनाका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

साथै घाइतेहरूको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गरिएको छ।

विज्ञप्तिमा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधतायुक्त राष्ट्र भएकाले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्नु सबैको साझा दायित्व भएको उल्लेख गरिएको छ।

हिंसा, अशान्ति, द्वन्द्व तथा सामाजिक वैमनस्यले नागरिकको जनजीवन, आर्थिक गतिविधि, उद्योग–व्यवसाय र समग्र राष्ट्रिय विकास प्रक्रियामा नकारात्मक असर पार्ने वीरगंज उधोग वाणिज्य संघको भनाइ छ।

सङ्घले कुनै पनि असन्तुष्टि वा विवादलाई संवाद, समझदारी र कानुनी प्रक्रियामार्फत शान्तिपूर्ण रूपमा समाधान गर्न आग्रह गर्दै सामाजिक सद्भाव विथोल्ने गतिविधिबाट टाढा रहन सबैलाई अपिल गरेको छ।

संघले संयम, सहिष्णुता, आपसी विश्वास, भाइचारा र राष्ट्रिय एकतालाई सुदृढ बनाउँदै देशमा स्थायी शान्ति कायम राख्न सम्पूर्ण नागरिक तथा सम्बन्धित निकायलाई जिम्मेवार भूमिका निर्वाह गर्न समेत आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्