वीरगंज- वीरगञ्ज उद्योग वाणिज्य संघ (बीआईसीसीआई) ले त्रिभुवन राजपथ विस्तारका क्रममा देखिएको अव्यवस्था, निर्माणजन्य फोहोर र आधारभूत सेवामा आएको अवरोधप्रति गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेको छ।
संघका अध्यक्ष हरिप्रसाद गौतमद्वारा जारी प्रेस विज्ञप्तिमा सडक विस्तारका क्रममा भत्काइएका घर–भवनको फोहोर लामो समयसम्म व्यवस्थापन हुन नसकेको, ढल तथा नाला अवरुद्ध भएको, खानेपानीका पाइप फुटेर पानी चुहावट भइरहेको र विद्युतका पोल तथा तार क्षतिग्रस्त हुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार सडक किनारमा छरिएका ढुंगा, इँटा, छड र सिमेन्टका टुक्राका कारण आवागमन कठिन हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको छ।
वर्षायाममा ढल निकास अवरुद्ध हुँदा फोहोर पानी सडक र घरभित्र पस्ने अवस्था सिर्जना भएको तथा यसबाट हैजा, डेङ्गु, मलेरिया लगायत संक्रामक रोग फैलिन सक्ने जोखिम बढेको संघले जनाएको छ।
संघले त्रिभुवन राजपथ विस्तारको कार्यलाई योजनाबद्ध, सुरक्षित र व्यवस्थित ढंगले अघि बढाउन, निर्माणजन्य फोहोर तत्काल हटाउन, ढल तथा नाला सञ्चालनमा ल्याउन, खानेपानी र विद्युत सेवा शीघ्र पुनःस्थापना गर्न तथा सर्वसाधारणलाई सहज आवागमनको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ।
साथै, वर्षायाममा जनस्वास्थ्य र नागरिक सुरक्षालाई प्राथमिकतामा राखी आवश्यक कदम चाल्न पनि संघले सरकारको ध्यानाकर्षण गराएको छ।

