नेभिगेशन
समाज
समसामयिक :

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासको उल्लेखनीय सफलता, ७१ प्रतिशत मुद्दा फर्छ्योट

कर्मचारी र भौतिक संरचनाको अभावबीच

वीरगञ्ज । कर्मचारी अभाव तथा भौतिक पूर्वाधारको सीमितताबीच पनि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय रूपमा मुद्दा फर्छ्योट गरेको छ। 

सञ्चारकर्मी संगको अन्तरक्रियाको क्रममा
मुख्य न्यायाधीश गोकर्ण डाँगीका अनुसार सीमित स्रोतसाधनका बाबजुद इजलासले यस आर्थिक वर्षमा ७१.०८ प्रतिशत मुद्दा फर्छ्योट गर्न सफल भएको हो।

अदालतले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा जिम्मेवारी सरेका ३ हजार ५९४ र नयाँ दर्ता भएका ४ हजार ६३० गरी कुल ८ हजार २२४ मुद्दा रहेका थिए।

तीमध्ये ५ हजार ८४६ मुद्दा फर्छ्योट गरिएको छ भने २ हजार ३७८ मुद्दा अझै बाँकी रहेका छन्।

यसअघि आर्थिक वर्ष २०८०/८१ मा ५६.६० प्रतिशत तथा २०८१/८२ मा ५६.८५ प्रतिशत मुद्दा फर्छ्योट भएको थियो। यस वर्ष भने फर्छ्योट दर उल्लेखनीय रूपमा बढेर ७१.०८ प्रतिशत पुगेको अदालतले जनाएको छ।

त्यस्तै, आर्थिक वर्ष २०८२/८३ मा फैसला हुन बाँकी रहेका मुद्दामध्ये ६ महिनाभित्रका १ हजार ३५९, एक वर्षभित्रका ७०६, १२ देखि १८ महिनासम्मका २९२ र १८ महिनाभन्दा बढी समयदेखि विचाराधीन २१ मुद्दा रहेका छन्।

अदालतका अनुसार अघिल्लो आर्थिक वर्षबाट १८ महिनाभन्दा बढी पुराना १५७ मुद्दा जिम्मेवारी सरेकोमा चालु आर्थिक वर्षमा तीमध्ये अधिकांश फर्छ्योट गरी अब २१ वटा मात्रै बाँकी रहेका छन्।

मुख्य न्यायाधीश गोकर्ण डाँगीले कर्मचारी अभाव, सीमित भौतिक संरचना तथा बढ्दो मुद्दाको चापका बाबजुद न्यायाधीश, कर्मचारी र कानुन व्यवसायीहरूको समन्वय तथा मेहनतका कारण उल्लेखनीय उपलब्धि हासिल भएको बताए।

आगामी दिनमा आवश्यक जनशक्ति र पूर्वाधारको व्यवस्था भएमा अदालतको सेवा प्रवाह अझ प्रभावकारी हुने उनको विश्वास छ।

कार्यक्रममा अदालतका रजिस्ट्रार तारादत्त बडुले विभिन्न मुद्दाहरुको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजका न्यायाधीश जगत बहादुर थापा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्