वीरगन्ज-मनसुनको सुरुवातसँगै आउन सक्ने सम्भावित प्राकृतिक विपद् र त्यसको पूर्वतयारीलाई लिएर वीरगन्ज महानगरपालिकाले तदारुकता देखाएको छ।
आज (शनिबार) वीरगन्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमको अध्यक्षतामा नगर विपत व्यवस्थापन मूल समितिको आकस्मिक बैठक सम्पन्न भएको छ।
कार्यवाहक प्रमुखको सचिवालयमा बसेको उक्त बैठकले मनसुन पूर्वतयारी, अनुगमन, स्वास्थ्य सेवा तथा वडा कार्यालयहरूलाई तयारी अवस्थामा राख्ने लगायतका चारवटा महत्त्वपूर्ण प्रस्तावहरूमाथि छलफल गर्दै विभिन्न निर्णयहरू गरेको छ।
बैठकले मनसुन सक्रिय भइसकेकाले सम्भावित जोखिम न्यूनीकरणका लागि सम्पूर्ण आवश्यक स्रोत-साधन, पूर्वानुमान र तयारीलाई चुस्त राख्ने निर्णय गरेको छ।
यसका साथै मौसम पूर्वानुमान र पूर्व सूचना प्रणालीसँग निरन्तर आबद्ध रही पूर्वतयारी तीव्र पार्ने सहमति भएको छ।
महानगरपालिका अन्तर्गत मनसुन सुरु भई केही स्थानमा समस्या सिर्जना भइसकेकाले तत्काल अनुगमन टोली परिचालन गरिने भएको छ।
उक्त टोलीले स्थलगत अवस्थाको विश्लेषण गरी समस्या समाधान गर्ने र आगामी दिनमा आउन सक्ने जोखिमको समेत आकलन गरी राहत वितरणको पूर्वतयारी गर्ने निर्णय बैठकले गरेको छ।
विपद्को समयमा स्वास्थ्य क्षेत्रमा आउन सक्ने समस्या र महामारीको अवस्थालाई मध्यनजर गर्दै बैठकले आवश्यक औषधि, स्वास्थ्य सामग्री र स्वास्थ्य सेवाको भरपर्दो व्यवस्थापन गर्ने निर्णय गरेको छ।
यसका लागि सम्भावित स्वास्थ्य समस्या समाधानका निम्ति सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा रहन परिचालन गर्ने र यससम्बन्धी आवश्यक पत्राचार गर्ने निर्णय भएको छ।
त्यस्तै, विपद्को जोखिम सिर्जना हुन सक्ने अवस्थाको पूर्वविश्लेषण गर्दै महानगरका सबै वडा कार्यालयहरूलाई पूर्ण तयारी अवस्थामा रहनका लागि तुरुन्त पत्राचार गरिने भएको छ।
कार्यवाहक प्रमुख इम्तियाज आलमको अध्यक्षतामा बसेको उक्त आकस्मिक बैठकमा प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहरा, अवधेश प्रसाद कुशवाहा, हरिशंकर प्रसाद कुर्मी, राकेश साह, विभा मिश्रा, सफुदिन मिया, हरि प्रसाद भुसाल र स्वास्थ्य शाखा प्रमुख राजु प्रसाद साह लगायतको उपस्थिति रहेको थियो।
महानगरले मनसुनजन्य प्रकोपबाट हुन सक्ने क्षति कम गर्न र नगरवासीको सुरक्षाका लागि आफ्नो सम्पूर्ण संयन्त्रलाई तयारी अवस्थामा राखेको जनाएको छ।


