वीरगंज-वीरगञ्जको प्रसिद्ध शक्तिपीठ श्री गहवामाई मन्दिरको चौथो रथयात्रा आज बिहान भव्य रूपमा निकालिएको छ।
धार्मिक आस्था र उत्साहका साथ निकालिएको रथयात्रामा हजारौं श्रद्धालु भक्तजनको उल्लेखनीय सहभागिता रहेको थियो।
बिहानैदेखि भक्तजनहरू पूजा–आराधना गर्दै जयघोषका साथ रथयात्रामा सहभागी भएका थिए।
परम्परागत बाजागाजा, भजन–कीर्तन तथा धार्मिक झाँकीसहित निकालिएको रथ नगरका विभिन्न मुख्य सडकहरू हुँदै परिक्रमा गरेको थियो।
रथयात्राका कारण वीरगञ्जको वातावरण पूर्ण रूपमा भक्तिमय बनेको देखिन्थ्यो। श्रद्धालुहरूले गहवामाईको दर्शन गरी सुख, शान्ति र समृद्धिको कामना गरेका थिए।
रथयात्रालाई व्यवस्थित र सुरक्षित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी तथा स्वयंसेवकहरूको व्यापक परिचालन गरिएको थियो।
सम्भावित भीड व्यवस्थापनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको थियो भने मुख्य चोक–चोकमा सुरक्षाकर्मी तैनाथ गरिएका थिए।
यातायात व्यवस्थापनका लागि केही स्थानमा वैकल्पिक मार्गसमेत प्रयोग गरिएको थियो।
हरेक वर्ष आयोजना हुँदै आएको गहवामाईको रथयात्रा वीरगञ्जको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा स्थापित हुँदै गएको छ।
यस वर्षको चौथो रथयात्रा पनि श्रद्धा, अनुशासन र भव्य सहभागिताका साथ सफलतापूर्वक सम्पन्न हुने आयोजक समितिले जनाएको छ।


