नेभिगेशन
समाज
समसामयिक :

सेस्मी स्कुलका विद्यार्थीलाई खाजा वितरण गर्दै लायन्स वर्ष २०२६–२७ को शुभारम्भ

वीरगञ्ज— नयाँ लायन्स वर्ष २०२६–२७ को पहिलो दिनलाई सेवामूलक कार्यबाट स्मरणीय बनाउँदै लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज जय गहवामाईको संयुक्त आयोजनामा वीरगञ्जको प्रगतिनगरस्थित सेस्मी इन्टरनेशनल स्कुलका विद्यार्थीहरूलाई खाजा वितरण गरी लायन्स वर्ष २०२६–२७ को शुभारम्भ गरिएको छ।

लायन्स इन्टरनेशनलको मूल मन्त्र ‘हामी सेवा गर्छौं (We Serve)’ लाई आत्मसात गर्दै आयोजित कार्यक्रममा विद्यालयका करिब १५० जना विद्यार्थीहरूलाई पौष्टिक तथा स्वस्थकर खाजा वितरण गरिएको थियो।

लायन्स वर्षको सुरुवात सामाजिक सेवा र मानवीय उत्तरदायित्वबाट गर्दै समुदायप्रति आफ्नो प्रतिबद्धतालाई व्यवहारमा उतारिएको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी लायन बासु तिमिल्सिनाले यस्ता सेवामूलक गतिविधिले विद्यार्थीहरूमा सहयोग, सद्भाव र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्नुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमीकी अध्यक्ष लायन अहिल्या श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट एक्जिक्युटिभ चिफद्वय लायन आशमा सिंह यादव र लायन विजय गुप्ता, डिष्ट्रिक्ट प्रोग्राम मेम्बर लायन सोनी अग्रवाल, लायन्स क्लब अफ वीरगञ्जका अध्यक्ष लायन गोविन्द साह कानु, विभिन्न क्लबका पदाधिकारी तथा सदस्यहरू, विद्यालयका शिक्षक–शिक्षिका, कर्मचारी र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूले खाजा ग्रहण गर्दै खुसी व्यक्त गरेका थिए भने विद्यालय प्रशासनले यस मानवीय पहलका लागि आयोजक क्लबहरूप्रति आभार व्यक्त गरेको थियो।

लायन्स वर्षको पहिलो दिनबाट सुरु गरिएको यो सेवामूलक अभियानले आगामी दिनमा पनि समुदायमुखी कार्यक्रमलाई निरन्तरता दिने सन्देश दिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्