समसामयिक :

राजेशमानमाथिको मुद्दाले फेरि चर्चामा ल्यायो न्याय र सुशासनको बहस : ईश्वर यादव

मंगलबार, जेठ २६, २०८३

वीरगंज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न आरोपसहित मुद्दा दर्ता गरेपछि राजनीतिक तथा सामाजिक वृत्तमा बहस तीव्र बनेको छ।

यसै विषयमा वीरगंजका चर्चित युवा नेता ईश्वर चन्द्र यादवले आफ्नो धारणा सार्वजनिक गर्दै सत्य र न्याय अन्ततः स्थापित हुने बताएका छन्।

यादवले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विचारमा राष्ट्रिय राजनीतिमा विगतमा भएका घटनाक्रमको स्मरण गर्दै नयाँ राजनीतिक शक्तिमाथि समेत विभिन्न आरोप र मुद्दा लगाइएका उदाहरण प्रस्तुत गरेका छन्।

उनले जनताले परिवर्तन, सुशासन, पारदर्शिता र न्यायको अपेक्षासहित मत दिएको उल्लेख गर्दै कानुनी प्रक्रियालाई निष्पक्ष र तथ्यपरक ढंगले अगाडि बढाउनुपर्ने बताएका छन्।

मेयर राजेशमान सिंहमाथि छोरीको नागरिकता सम्बन्धी विषयलाई लिएर विभिन्न आरोपहरू लगाइएको सन्दर्भमा यादवले अन्तिम सत्य अदालतबाट प्रमाण र तथ्यका आधारमा स्थापित हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

उनले हाल मुद्दा जिल्ला अदालतमा विचाराधीन रहेको अवस्थामा थप मुद्दा दर्ता गरिएको विषयले पनि कानुनी बहस र जिज्ञासा उत्पन्न गरेको बताएका छन्।

यादवका अनुसार लोकतान्त्रिक व्यवस्थामा न्यायिक स्वतन्त्रता, विधिको शासन र सत्यको खोजीप्रति सबै पक्षले सम्मान गर्नुपर्छ।

“सत्यलाई केही समयका लागि परीक्षामा पार्न सकिन्छ, तर सत्यलाई पराजित गर्न सकिँदैन,” भन्दै उनले राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर निष्पक्ष न्यायको अपेक्षा गर्नुपर्ने बताएका छन्।

मेयर राजेशमान सिंहविरुद्ध दर्ता भएका मुद्दा र त्यसको कानुनी प्रक्रियालाई लिएर जनस्तरमा चासो बढिरहेका बेला यादवको अभिव्यक्तिले थप राजनीतिक चर्चा सिर्जना गरेको छ।

प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  ०९:४०
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय