समसामयिक :

गौतम माध्यमिक विद्यालयको सार्वजनिक वक्तव्य : गलत प्रचारप्रति आपत्ति, सहयोगको अपिल

शुक्रबार, वैशाख २५, २०८३

वीरगंज । वीरगञ्जस्थित गौतम माध्यमिक विद्यालयले सार्वजनिक वक्तव्य जारी गर्दै सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा भइरहेको गलत तथा एकपक्षीय प्रचारप्रति गम्भीर आपत्ति जनाएको छ।

विद्यालयले यस्ता गतिविधिले समस्या समाधानभन्दा झन् भ्रम, तनाव र नकारात्मकता बढाउने बताएको छ।

वक्तव्यमा प्रेस स्वतन्त्रताको सम्मान गरिने तर सत्यता र जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण हुने उल्लेख गरिएको छ।

अपुष्ट समाचारले विद्यालयको प्रतिष्ठामात्र होइन, विद्यार्थी, शिक्षक र अभिभावकको विश्वासमा समेत असर पार्ने जनाइएको छ।

विद्यालयले अभिभावकलाई समयमै शुल्क भुक्तानी गर्न अनुरोध गर्दै केही व्यक्तिले अनावश्यक दबाब र प्रभाव प्रयोग गरी प्रशासनिक तथा मानसिक समस्या सिर्जना गरेको उल्लेख गरेको छ।

यसका कारण विद्यालयमा आर्थिक भार बढेको पनि जनाइएको छ।

विद्यालयले विगतमा विभिन्न चुनौतीबीच पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको दाबी गर्दै, केही स्वार्थ समूहले फैलाएको भ्रमपूर्ण सूचनाले संस्थामाथि आक्रमण गर्ने प्रयास भइरहेको बताएको छ।

यस्ता विषयमा सामाजिक सञ्जालमा नकारात्मक प्रचार गर्नुको सट्टा प्रत्यक्ष संवादमार्फत समाधान खोज्न आग्रह गरिएको छ।

अन्त्यमा, विद्यालयले सबै सरोकारवालासँग सकारात्मक सोच, सहयोग र जिम्मेवार व्यवहारको अपेक्षा गर्दै आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २५, २०८३  ११:२३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय