समसामयिक :

शङ्खधर साख्वाबारेको अभिव्यक्तिप्रति वीरगञ्जका नेवार समुदायको आपत्ति

सोमबार, वैशाख १४, २०८३

वीरगञ्ज - वीरगञ्ज बचाउ संघर्ष समितिद्वारा आयोजित विरोध कार्यक्रममा राष्ट्रिय विभूति शङ्खधर साख्वा सम्बन्धी गरिएको अभिव्यक्तिप्रति यहाँको नेवार समुदायले गम्भीर आपत्ति जनाएको छ।

नेवा देय दबु जिल्ला समिति पर्सा, नेवा देय दबु वीरगञ्ज महानगर समिति, नेवा पुच वीरगञ्ज, भिन्तुना गुठी भिश्वा तथा खड्गी समाज वीरगञ्जले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै उक्त अभिव्यक्तिको विरोध गरेका हुन्।

संघर्ष समितिका कुन्दन रौनियारले शङ्खधर साख्वाबारे अपमानजनक अभिव्यक्ति दिएको तथा नेवार समुदायप्रति होच्याउने टिप्पणी गरेको आरोप उनीहरूले लगाएका छन्।

विज्ञप्तिमा शङ्खधर साख्वा नेपाल संवतका प्रवर्तक तथा सामाजिक न्यायका अग्रदूतका रूपमा परिचित ऐतिहासिक व्यक्तित्व भएकाले उहाँमाथिको यस्तो टिप्पणीले समग्र समाजको भावनामा आघात पुगेको उल्लेख गरिएको छ।

सोमबार जारी विज्ञप्तिमा रौनियारको अभिव्यक्तिलाई गैरजिम्मेवार, आपत्तिजनक तथा सामाजिक सद्भावमा नकारात्मक असर पार्ने खालको भन्दै कडा निन्दा गरिएको छ।

साथै, सडक विस्तारजस्ता विकाससम्बन्धी विषयलाई तोडमोड गरी जातीय विद्वेष फैलाउने प्रयास गरिएको आरोप पनि लगाइएको छ।

हरिखेतान क्याम्पस अगाडिको क्षेत्र व्यवस्थापन तथा शङ्खधर साख्वा पार्कको सौन्दर्यीकरण जस्ता विषयलाई नामकरण विवादमा मोडेर भ्रम सिर्जना गरिएको दाबी विज्ञप्तिमा गरिएको छ।

वक्तव्यमा शङ्खधर साख्वाको ऐतिहासिक योगदानको स्मरण गर्दै उहाँको सम्मान कायम राख्न र यस्ता भ्रामक तथा विभाजनकारी अभिव्यक्तिहरू तत्काल रोक्न आग्रह गरिएको छ।

साथै, सबै सरोकारवालालाई सचेत रहन अपिल गरिएको छ।

प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३  १८:५२
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय