समसामयिक :

रक्सौल नाकामा मानव तस्करी प्रयास विफल, नाबालिग बालिका उद्धार

आइतबार, फागुन २४, २०८२

वीरगंज । भारत–नेपाल सीमास्थित रक्सौलको मैत्री पुल नजिक मानव तस्करीको प्रयास विफल पार्दै नाबालिग बालिकालाई उद्धार गरिएको छ।

मानव तस्करी विरुद्ध काम गर्ने एएचटीयू–एसएसबी ४७औं वाहिनीको टोलीले दुई जना संदिग्ध व्यक्तिको साथबाट ती बालिकालाई सुरक्षित रुपमा उद्धार गरेको हो।

सूचनाका आधारमा सीमा क्षेत्रमा आवतजावत गर्ने व्यक्तिमाथि निगरानी गरिरहेको टोलीले भारतबाट नेपालतर्फ जाँदै गरेका दुई युवकलाई एक किशोरीसँगै रोकेर सोधपुछ गरेको थियो।

प्रारम्भिक सोधपुछमा उनीहरूले आफूलाई “गोलु” र “सोनु” बताउँदै किशोरी आफ्नै बहिनी भएको र नेपालमा आफन्तको घर जाँदै गरेको बताएका थिए। तर उनीहरूको भनाइ शंकास्पद देखिएपछि टोलीले थप अनुसन्धान अघि बढाएको थियो।

प्रयास जुवेनाइल एड सेन्टर, स्वच्छ रक्सौल संस्था र ग्राम नियोजन केन्द्रजस्ता गैरसरकारी संस्थाको सहयोगमा तीनै जनालाई छुट्टाछुट्टै राखेर सोधपुछ तथा काउन्सेलिङ गरिएको थियो।

अनुसन्धानका क्रममा उद्धार गरिएकी नाबालिग ‘रानी कुमारी’ (परिवर्तित नाम) भारतको बिहार राज्यस्थित मोतिहारीको पताही थाना क्षेत्रकी रहेको खुलेको छ।

त्यस्तै आरोपीहरूमा मोहम्मद अरमान (परिवर्तित नाम गोलु) पर्सा जिल्लाको वीरगंज विर्ता एरियाका र इकबाल अन्सारी (परिवर्तित नाम सोनु) भारतको नरकटियागञ्जस्थित शिकारपुर थाना क्षेत्रका रहेको बताइएको छ।

अनुसन्धानका क्रममा मोहम्मद अरमानले “गोलु” नामबाट नक्कली परिचय बनाएर टिकटकमार्फत करिब चार महिनाअघि ती किशोरीसँग चिनजान बढाएको र पछि विवाहको झुटो आश्वासन दिँदै प्रेमजालमा पारेर नेपाल लैजाने योजना बनाएको खुलासा भएको छ।

एसएसबीको सतर्कता र तत्काल गरिएको कारबाहीका कारण बालिकालाई सुरक्षित रुपमा उद्धार गरिएको हो।

दुवै आरोपी र उद्धार गरिएकी किशोरीलाई थप कानुनी कारबाहीका लागि भारतको हरैया थाना प्रहरीलाई जिम्मा लगाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  १०:४८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय